राजशुक्र र सोनुको कस्तो ‘अजम्बरी माया…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, ३ मंसिर शुक्रबार
no img

raj-1

काठमाडौं, ३ मंसिर । हिरो वा मोडल बन्ने रहर यहाँ कसको नहोला र ? त्यही रहरकै कारण गायन क्षेत्रमा नाम र दाम कमाउँदै आएकाहरु समेत ‘हिरो’ बन्नलाई लालायित हुँदै आएका छन् । नेपाली गीतसंगीत क्षेत्रमा यस्ता थुप्रै उदाहरण छन्, जो गायनबाट अभिनयमा होमिएका छन् ।
यस्तै, अब गायक तथा संगीतकार राजशुक्र लिम्बू पनि मोडलका रुपमा देखिएका छन् । पछिल्लो समय व्यस्त संगीतकारका रुपमा चिनिएका राजशुक्रले आफ्नै गीतमा मोडलिङ गरेका छन् । बिहीबारमात्र रिलिज भएको ‘अजम्बरी माया…’ बोल गीतको भिडियोमा यी गायक तथा संगीतकारको अभिनय हेर्न सकिन्छ । मनोरञ्जन नेपालले यु–ट्युबमा सार्वजनिक गरेको यस भिडियोमा राजशुक्रसँगै जीवन शाही र सोनु राईले पनि मोडलिङ गरेका छन् । जीवन शाहीले नै निर्देशन गरेको ‘अवम्बरी माया’ भिडियोमा वियोगात्मक प्रेम विम्बलाई चित्रण गरिएको छ । ‘पाउन मात्र नभएर गुमाउनु पनि प्रेम हो’ भन्ने आशयलाई यस भिडियोमा चित्रण गरिएको छ ।
स्मरणीय त के छ भने यस गीतमा राजशुक्रको स्वर मात्र छ । उनी आफै राम्रा र व्यस्त संगीतकार भइकन पनि ‘अजम्बरी माया’ गीतलाई उनले ओमप्रकाश राईको संगीतमा गाएका छन् । यसो गर्नुमा पक्कै पनि उनले फरकपन दिन खोजेको बुझिन्छ । यस गीतको शब्दरचना राजकुमार बगरले गरेका हुन्, जो आफ्नो गीतमा वियोगात्मक शब्दचयन गर्न खप्पिस मानिन्छन् । गायिका अञ्जु पन्तले गाएका अधिकांश वियोगात्मक अर्थात प्रेमपीडाका गीत उनै बगरले लखेका हुन् । यस्तै, यसपटक बगरले राजशुक्रका लागि पनि त्यस्तै गीत लेखेका छन् ।
सयौं गीतमा संगीत तथा स्वर दिइसकेका राजशुक्रले गायनबाटै करिअर प्रारम्भ गरेका हुन् । तर, पछिल्लो केही वर्षयता उनी संगीत व्यवसायिक तथा संगीत सिर्जनामा बढी व्यस्त हुन थालेका छन् । यसो हुनुमा उनी भन्छन्, ‘यो समयको माग हो ।’ म्युजिक भिडियोमा मोडलिङ भने यो उनको पहिलो होइन किनकि उनले लिम्बू भाषाका आफ्नो थुप्रै गीतमा अभिनय गरेका छन् । तर, नेपाली भाषाको गीतमा भने यो राजशुक्रको पहिलो मोडलिङ नै हो ।

Comments