आर्ट काउन्सिलमा ३६ कलाकारको कलाकृति
screennepal
प्रकाशित: २०७३, २८ कार्तिक आईतवार
no img

काठमाडौं २८ कार्तिक । नेपाल आर्ट काउन्सिलमा ३६ जना नेपाली तथा विदेशी कलाकारका कलाकृति प्रदर्शनी शनिबारबाट सुरु भएको छ । एसएमडी फाउन्डेशन इण्डियाको संयोजनमा नेपाल आर्ट काउन्सिल, न्यू आर्ट सर्कल तथा जंगल किलोल फाउन्डेशनको आयोजनामा भएको सो प्रदर्शनी चारदिनसम्म रहनेछ ।

art-council
प्रदर्शनीको उद्घाटन गर्दै संस्कृतिविद् सत्यमोहन जोशीले नेपालमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी हुनु सुखद पक्ष रहेको बताए । उनले भने, ‘यस्ता प्रदर्शनी गर्दै गए नेपाली कलाले विश्वमा आफ्नो छाप छोड्न सक्छ ।’ नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म कला र संस्कृतिको माध्यमबाट जोडने उद्देश्य राखेर प्रदर्शनी गरिएको नेपालतर्फका आयोजक संस्था न्यू आर्ट सर्कलका उपाध्यक्ष नरेशसुन्दर सैंजुले बताए ।
एसएमडी फाउन्डेशनको संयोजक मिन्टु डेकाले यस्ता किसिमका कला प्रदर्शनीले नेपाली तथा अन्य देशका कलाकारलाई एक ठाउँमा जोड्न सकेको बताए ।

nacb
प्रदर्शनीमा सहभागी हुन भारतको कलकत्ताबाट आएका कलाकार सुशान्त सरकारले नेपालमा भएको कला प्रदर्शनी तथा कार्यशालाले आफुमा नयाँ उर्जा थपेको बताए । उनले कार्यशालामा माता शीर्षकमा बनाएको चित्र र समग्र नारी शक्तिलाई इंगित गर्दै शक्तिका रुपमा प्रस्तुत गरेका थिए ।
सो प्रदर्शनीमा नेपालबाट कलाकार प्रमिला गिरी, कृष्ण मानन्धर, किरण मानन्धर, श्यामलाल श्रेष्ठ, नरेशसुन्दर सैंजु, जीवन राजोपाध्याय, हरि खडका, शंकरनाथ रिमाल, टेकवीर मुखिया, लोक चित्रकार, शंकरराजसिंह सुवाल, टार्जन साङपाङ, रत्नकाजी शाक्य, शान्त कुमार राई, बुद्धि गुरुङ, गोविन्द डंगोल रहेका छन् भने भारतबाट मिन्टु डेका, शिखा गुप्ता, डा. सन्ध्या पाण्डे, सुशान्त सरकार, मन्देश राजगुरु, शयामल मुखर्जी, प्रशान्त फुसेल, रचेल थोमस, सुजित दास, डा. जुनमोनी बोरा, झरना हल्दार पाकिस्तानबाट फाकिरा फाकीरो, मोहन दास, असिर नहिम, अदनान अली, लेवनानबाट नाडा इटानी र नोहा हसन चम्सिद्दिन र श्रीलंकाबाट बि.सरथ गुनश्री परेरा रहेका छन् ।
कार्यशालामा तयार पारिएका चित्रलाई नेपाल कला परिषद्मा रहेको वागमती कला संग्रहालयमा राखिने न्यू आर्ट सर्कलका कोषाध्यक्ष हरि खडकाले बताए । प्रदर्शनी ३० कातिकसम्म रहने छ ।

Comments