रुपकुमारको छैठौ ‘रुप’, ‘केकीको जताततै चर्चा’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, २२ कार्तिक सोमबार
no img

काठमाडौं,  २२ कार्तिक  ।  ‘गुन्दु्रक किनामा’ गाएर अघिल्लो वर्ष गायक रुपकुमार राई चर्चामा आएका थिए । आफ्नै गाउँठाउँ खोटाङलाई सम्झिँदै उनले उक्त गीत गाएका थिए । ‘सार’ एल्बममा समावेश ‘गुन्द्रुक किनामा’ को चर्चासँगै हौसिएका गायक रुपकुमारले त्यतिखेरै भनेका थिए, ‘अब अर्को पनि यस्तै किसिमको फरक स्वादमा गीत गाउने सोच छ ।’ त्यही आफ्नो सोचको फलस्वरुप उनले एउटा म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीतको बोल रहेको छ, ‘चर्चा ।’

rup
गीतको बोलजस्तै उक्त गीत तथा भिडियोले यतिखेर चर्चा पाइरहेको छ । यो गीत रुपकुमारको छैटौ सोलो आधुनिक तथा गजल एल्बम ‘रुप’ मा समोवेश छ । ‘सार’ पछि ‘रुप’ सार्वजनिक गरेका रुपकुमार भन्छन्, ‘रुपमा मेरा अघिल्ला एल्बमका गीतहरुभन्दा फरक छन् । यस एल्बमका गीतहरुले मेरो सांगीतिक रुप दिने विश्वास लिएको छु ।’
हुन त रुपकुमारको सांगीतिक सार बुझिसकेका दर्शक तथा श्रोताका लागि रुप बुझ्न पक्कै गाह्रो हुनेछैन । ‘चर्चा’ बोलको भिडियो सार्वजनिकसँगै यसले बुटिलिरहेको चर्चाले पनि यहि बताउँछ ।
‘रुप’ मा समावेश यो ‘चर्चा’ गजल शैलीमा तयार गरिएको छ ।
बरिष्ठ गीतकार तथा गजलकार डा.कृष्णहरी बरालले लेखेको यस गजललाई संगीतकार एवं प्राज्ञ शान्तिराम राईले लयबद्ध गरेका हुन् ।
गजलको शब्द र लयअनुसार यसको भिडियो पनि निकै राम्रो बनेको छ । यस गजलको भिडियोमा अभिनेत्री केकी अधिकारी र जीवन भट्टराईले अभिनय गरेका छन् । अर्जुन अधिकारीले निर्देशन गरेको यस भिडियोमा युवाले आफूलाई मनपरेको युवतीको रुपको चर्चा गरेका छन् । गीतको शब्दसारलाई भिडियोमा दुरुस्त उतारिएको छ, जसका कारण पनि गीतसँगै भिडियोलाई पनि दर्शकले मन पराएका छन् ।
‘रुप’ रुपकुमारको पछिल्लो एल्बम हो । यस एल्बममा ‘चर्चा’का अलावा अन्य तीन गीत छन् । जसमा ‘सधैं तिमी’, ‘न त लग्यौ मलाई साथ’ र ‘तिम्रो मनमा’ बोलका रहेका छन् । एल्बमका ती गीतमा महेश खड्का, सचिन सिंह र शान्तिराम राईको संगीत रहेको छ भने शब्दरचना डा. कृष्णहरी बराल, बलबहादुर राई, देवन चाम्लिङ र शंकर अधिकारीको रहेको छ । ‘रुप’लाई हिल्टोन म्युजिक सेन्टर प्रालिले बजारमा ल्याएको हो ।
चर्चा भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस ।

Comments