काठमाडौं, ११ असोज । पछिल्लो समय विभिन्न नाममा सौन्दर्य प्रतियोगिताहरु हुँदै आएका छन् । दैनिकजसो हुने यस्ता डेढ दर्जन सौन्दर्य प्रतियोगिताका विजेताहरुलाई लिएर सिनेयात्री मासिक पत्रिकाले ‘सिनेयात्री बेस्ट अफ द बेस्ट’ नामक कार्यक्रम गरेको छ ।
राजधानीको सोह्रखुट्टेस्थित ड्राइगन टुरिष्ट मार्केटको ग्यालरीमा आयोजित कार्यक्रममा डेढ दर्जन विजेता तथा विभिन्न कलाकारले प्रस्तुती पस्केका थिए ।
हास्य अभिनेत्री बसुन्धरा भुषालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त सांगीतिक कार्यक्रममा गिनीकृपा लिम्बू, अप्रिला लामा, प्रकृति धमला, सति गुरुङ, एञ्जेल श्रेष्ठ, सोनिया लिम्बू, सृष्टि ऐर, अन्श्री बराल, रिञ्जी शेर्पा, स्नेहा अधिकारी, सुरुची बज्राचार्यलगायतले नृत्य प्रस्तुत गरेका थिए । उनीहरु विभिन्न सौन्दर्य प्रतियोगिताका टपरहरु हुन् ।
कार्यक्रममा धिरज राई, रुकमान लिम्बू, रुपक डोटेल, मेनुका राई, धनकुमारी थापा ‘सरु’लगायतका गायक÷गायिकाले गीत प्रस्तुत गरेका थिए भने कार्यक्रममा हरिशा बानियाँ, नाम्दु शेर्पा, रमिला न्यौपानेलगायतले नृत्य प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।
सिनेयात्री केही वर्षयता दशैं नसजकिँदै गर्दा शुभकामना आदान–प्रदानसहित यस्तै कार्यक्रम गर्दै आएको छ । विगतका वर्षहरुमा ‘सिनेयात्री स्टार नाइट’ नामले कार्यक्रम गर्दै आएको यस पत्रिकाले यस वर्ष भने ‘सिनेयात्री बेस्ट अफ द बेस्ट’ नाममा कार्यक्रम गरेको हो । ‘कार्यक्रमको रुपमा बदल्न सौन्दर्य प्रतियोगिताका विजेताहरुलाई लिएर बेस्ट अफ द बेस्ट कार्यक्रम गरिएको हो’ पत्रिकाका प्रधान सम्पादक राजन दाहाल ‘आरडी’ले भने, ‘कार्यक्रम सोचेभन्दा राम्रो पनि भयो ।’ करिब तीन घण्टा चलेको कार्यक्रममा विभिन्न सरकारी निकायका व्यक्तित्वहरुको पनि सहभागिता थियो ।