अड्री चेनलाई ‘जलपरी सिंगापुर’ उपाधि
screennepal
प्रकाशित: २०७३, २४ भाद्र शुक्रबार
no img

काठमाडौं, २४ भदौं । सिंगापुरस्थित होटल भिलेज चाङ्गीमा पहिलो ‘मिस मर्मेड सिंगापुर–२०१६’ भएको छ । गत सेप्टेम्बर ६ मा भएको उक्त प्रतियोगिताको कोरियोग्राफी नेपालका फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए । प्रतियोगिताको कोरियोग्राफीसँगै स्थानीय उद्घोषकका साथमा उनले सो प्रतियोगिताको संचालन समेत गरेका थिए ।

miss-mermaid-singapore-2
समुद्री जीवनको संरक्षण र प्रवद्र्धनमा लक्षित सो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा १२ जना सिंगापुरी युवतीको सहभागिता थियो । जलपरी अर्थात् मर्मेडको आवरणमा प्रस्तुत भएका सहभागी सुन्दरीबीचको प्रतियोगिता क्रमशः क्याजुयल वेयर पहिरन, प्रश्न उत्तर चरण, बिकिनी वेयर तथा ककटेल वेयरको प्रस्तुतिसँंगै विजेताको चयन गर्दै टुङ्गिएको थियो ।
miss-mermaid-singapore-1
नेपालस्थित ई प्लानेट प्रा.लि.को शाखा कार्यालय ई प्लानेट सिंगापुरले आयोजना गरेको सो प्रतियोगितामा अड्री चेन विजेता बनेका थिए । अड्रीले प्रतियोगितामा वेष्ट ट्यालेन्ट, मिस पपुलारिटी र टप इन्फ्लेन्सर अवार्डमा पनि आफूलाई अब्बल देखाएकी थिइन् । प्रतियोगिताको फस्ट रनर अपमा एन सी जिन र सेकेन्ड रनर अपमा एस्थर एङ विजेता चयन भएका थिए । उनीहरु क्रमशः द फेस अफ मर्मेड २०१६ एम्बेसडर तथा एम्बेसडर अफ द इयर २०१६का रुपमा पनि चयन भएका थिए । मिस मर्मेड सिंगापुर २०१६ सिंगापुर बुक अफ रेकर्डस् समेत दर्ता भएको छ ।

miss-mermaid-singapore-3
डेढ दशक भन्दा लामो समयको निरन्तरतामा आफूलाई परिष्कृत, परिमार्जित  र परिपक्व बनाउँदै आएका नेपाली फेसन मोडलिङ र सौन्दर्य प्रतियोगितामा आफूलाई स्थापित गर्न सफल फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्य राष्ट्रिय स्तरमा मात्र सीमित नभई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि आफूलाई अघि बढाउँदै आएका छन् । यस अघि रोजिनले मिस हेरिटेज इन्टरनेसनल र मिसेस् हेरिटेज इन्टरनेसनल नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको कोरियोग्राफरका रुपमा अनुभव संगालिसकेका छन् ।

Comments