ध्रुवराजका राष्ट्रिय गीतहरुको ‘आव्हान’
screennepal
प्रकाशित: २०७३, २० भाद्र सोमबार
no img

काठमाडौं, २० भदौं । गीतकार ध्रुवराज पौडेलका राष्ट्रिय गीतहरुको संग्रह ‘आव्हान’ सार्वजनिक भएको छ । राजधानीमा सोमबार आयोजित कार्यक्रममा गीतकार ध्रुवराज, गायक सुमित खड्का, संगीतकार शक्ति बल्लभ, गीतकार चुडामणि देवकोटा र व्यवसायी दिनबन्धु गोयललगायतले एल्बम सार्वजनिक गरेका थिए ।

Album (2)

एल्बममा संगीतकार बल्लभको सोलो संगीत र गायक खड्काको सोलो स्वर छ । कार्यक्रममा गीतकार पौडेलले आफुले यसअघि पनि राष्ट्रिय गीतहरु श्रोतामाझ ल्याईसकेको जानकारी दिँदै नयाँ एल्बममा एकताका गीत रहेको बताए । संगीतकार बल्लभले एल्बममा विकास निर्माण र संविधान कार्यान्वयनका लागि एकताको आव्हान गरिएको खुलाए । उनले चारदशकको सांगीतिक करियरमा आफुले राम्रा राष्ट्रिय गीतहरुमा संगीत भर्न पाएकोमा खुशी व्यक्त गरे ।

अर्का गीतकार देवकोटाले पछिल्लो समयमा राष्ट्रिय गीतहरु पछि परिरहेको बेला नयाँ पुस्ताले राष्ट्रियतामा आधारित गीत लेख्नु र गाउनु सकारात्मक कुरा भएको बताए । व्यवसायी गोयलले गायक सुमितलाई आफुले राम्रो गायकका रुपमा चिन्ने गरेको जनाउँदै राष्ट्रिय गीतमा खड्काको गायकीपनको तारिफ गरे । गायक सुमितले आफुले स्वदेश तथा विदेशमा हुने कार्यक्रममा राष्ट्रिय गीतलाई प्राथमिकता दिने गरेको उल्लेख गर्दै राष्ट्रियता जोडिएका गीत गाउँदा आनन्दित हुने बताए । कार्यक्रममा उनले ‘संसारले सोधे मेरो देश’ बोलको गीत गाएका थिए ।

म्युजिक हाइलाइट्सले उत्पादन गरेको एल्बममा ‘संसारले सोधे मेरो देश’, ‘संसार भरि छरिएका’, ‘नेपालको माटोमा फुल्यो’, ‘बाल्नुपर्छ आशाको दियो’, ‘हामी युवा देशका लागि’, ‘सबै भन्छन् हामी गरीब’ बोलका गीत छन् । कार्यक्रममा संगीतकार बल्लभले एल्बमको विक्रीबाट आउने रकमको केही प्रतिशत पूर्वाञ्चलमा रहेको नेपाल अपांग महिला संघलाई सहयोग गर्ने घोषणा गरे ।

Comments