काठमाडौं, १६ भदौं । नेपाली नारीहरुको विशेष पर्व हो तीज तर, जति नारीहरुलाई तीज लाग्छ, त्योभन्दा बढी गायक÷गायिकालाई छुने गरेको छ । धार्मिक तथा सांस्कृतिक आस्था बोकेको हरितालिका तीज पछिल्लो केही वर्षयता गायक/गायिकाले सांगीतिक पर्वका रुपमै लिन थालेका छन् । हरेक वर्ष तीज नजिकिँदै गर्दा तीज गीत निकाल्ने होडबाजी चल्छ । यस्तै देखियो यस वर्ष पनि ।
यसपालीको तीज आउन अब केही दिनमात्र बाँकी छ । यसैबेला अरु गायिकाहरुलाई जस्तै लाक्पा भुटियालाई पनि तीजले छोएको छ । यसपालीको तीजका लागि गायिका लाक्पा ‘झिल्के सारी’ मा देखिएकी छन् । यस तीज गीतमा लाक्पा आफैले मोडलिङसमेत गरेकी छन् । पबि घिमिरेको शब्द तथा राजेशकुमार श्रेष्ठको संगीत रहेको ‘झिल्के सारी’ बोलको आफ्नो तीज गीतलाई लाक्पाले केही समयअघि नै रिलिज गरेकी हुन् ।
आधुनिक गायनमा पछिल्लो समय जम्दै आएकी लाक्पाले भनिन्, ‘सबैले तीज गीत ल्याएको देखेर मैले पनि ल्याएकी हुँ ।’ उनले आफ्नो तीज गीतलाई श्रोता÷दर्शकले रुचाएको बताइन् । लाक्पाको यस गीतको भिडियोलाई कुमार केसीले निर्देशन गरेका हुन् । ‘झिल्के सारी’ बोलको यस तीज गीतबाट अहिले चर्चा पाइरहेकी लाक्पाले यही आउँदो शनिबार तीज स्पेशल कार्यक्रम समेत गर्दैछिन् । उनले भनिन्, ‘म इभेन्ट पनि गर्छुृ । यसैअनुसार यो शनिबार सिटी सेन्टरमा तीज कार्यक्रम गर्दैछु ।’ उनका अनुसार उक्त कार्यक्रममा चर्चितदेखि नयाँ कलाकारसम्मको सहभागी रहनेछ ।