ललितपुर १४ भदौ । कलाकार सत्यशिला कसजूको दोस्रो एकल कला प्रदर्शनी नेवाःछे आर्ट ग्यालरी पाटनमा आइतबारबाट सुरु भएको छ । प्रा. अभि सुवेदीले एक समारोहबीच उद्घाटन गरेको ‘अनित्य’ शीर्षकको सो प्रदर्शनीमा राखिएका कलाकृतिले समाज, प्राणी र समयलाई कलात्मक रुपमा प्रस्तुत गरेको पाइन्छ ।
घडीलाई बिम्बका रुपमा उतारेर समयको महत्वलाई उजागर गर्न कलाकार सफल रहेको प्रा. सुवेदीले बताए । ‘समान गतिमा चलिरहने भौतिक घडी रोकिएता पनि समय कहिल्यै रोकिदैंन । समयको गति एउटै भएता पनि यसले हरेक पटक नयाँ नयाँ अवस्थाको सिर्जना गर्दछ,’ कलाकार कसजूले बताउँदै थपिन्, ‘समयको गति र प्राणीसँगको अन्तरसम्बन्धलाई रङ र बिम्बमार्फत प्रस्तुत गर्ने कोसिस गरेको छु ।’
कसजूले समयलाई कलात्मक रुपमा चित्रण क्यानभासमा उतार्न सकेको ग्यालरी सञ्चालक तथा कलाकार सरिता डंगोलले बताइन् । उनले भनिन् ‘नेपाली समसामयिक कलाका क्षेत्रमा निकै सम्भावना भएकी कलाकारको रुपमा कसजू देखापरेकी छन् ।’
उनले घडीलाई पानीको बब्ल्स् जस्तै बनाएर हरेक प्राणीको निश्चित समयपछि अन्त्य हुने तर्क चित्रमार्फत गरेकी छन् । नेपाली समसामयिक कलामा उनको यो सोच र समय बिम्बिकरणको तादम्यता निकै अर्थपूर्ण देखिन्छ । उनले कही घडीको सुईलाई उन्मुक्त रुपमा आकाशमा अर्थात स्वतन्त्रतापूर्वक उडाइरहेकी छन् । समग्रमा उनका कलामा विषयको प्रस्तुतीकरण र रङ संयोजनमा निकै सचेतता अप्नाएको देखिन्छ । उनका घडी कही संस्कृतिको रुपमा उजागर भएका छन् त कही प्राकृतिक रुपमा प्रकट भएका छन् । विषयलाई जसरी उठाए पनि उनले समयलाई कलात्मक र अर्थपूर्ण रुपमा क्यानभासमा चित्रण गरेकी छन् ।
काठमाडौं विश्वविद्यालयबाट चित्रकलामा स्नातक अध्ययन गरेकी सत्यशिलाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा सहभागी भइसकेकी छन् भने दर्जनौ कला कार्यशालामा सहभागी भएकी छन् । प्रदर्शनी एक महिनासम्म रहनेछ ।
तस्वीर सौजन्यः छिरिङ गुरुङ