भक्तपुर, ९ भदौ । भक्तपुर साहित्यिक समाजले नियमित सञ्चालन गर्दै आएको घुमन्ते साहित्यिक शँृखलाको ५५औं शृखला रोम्बस नेशनल इङलिश स्कूल, कमलविनायकमा गरेको छ । यस शृँखलालाई गाईजात्रा विशेषका रुपमा प्रस्तुत गरेको थियो । यस शृँखलामा साहित्य रचना वाचन गर्ने अधिकांश स्रष्टा–सर्जकले देशमा भइरहेको विकृति, विसंगति, कालाबजारी र सरकारको अकर्मण्यताप्रति तिखो व्यंग्य गरे ।
साथै, वर्तमान अवस्थामा नेपाली जनताले भोग्नुपरिरहेको विनाशकारी भूकम्पको असर, नाकाबन्दीको असरसँगै चुलिएको बजारभाउ, नेताहरूको अकर्मण्यता र अदुरदर्शिताको यथार्थ चित्रण गर्दै स्वार्थ हावी हुँदै गएको वर्तमान परिवेश र सत्तामुखी राजनीतिमा निमुखा जनताको उत्थानमा कसैको ध्यान नगएको मार्मिक प्रसंगलाई आफ्ना रचनामार्फत अभिव्यक्त गरे ।
साहित्यकार भैरव अर्यालको रचना ‘जय भूँडी’ लाई सभापति बनाइ सञ्चालन गरिएको सो शृँखलामा सर्जक तिर्थभक्त थकु, सुशीला प्रधानाङ्ग, काशिराम विरस, प्रविण जोशी, दीपक दाहाल, पागल यात्री, रघुराम न्यौपाने, मधुसुदन पौडेल, रविन विष्ट, पशुपतिभक्त राय, सुलोचना जोशी, बसन्त नकर्मी, जननिप्रसाद मूल, कविन्द्रलाल प्रधान, गुहेश्वरी शाक्य, जयदेश श्रेष्ठ, आर.के.राजन, सरोजनाराण डंगोल, एल.के.सुन्दर, धर्मकृष्ण श्रेष्ठ, जीतेन्द्र रसिक, बाबुकाजी सुवाल, मौनता कायष्थ र सूर्यप्रसाद तिमिल्सिनालगायत करिब २ दर्जनभन्दा बढीले आ–आफ्नो कविता, गजल, गीत, मुक्तक,व्यंग्य गीत, हाँस्य रचना वाचन गरेका थिए ।
समाजका अध्यक्ष राजुराम मुनंकर्मीले कार्यक्रमको सफल व्यवस्थापन गरेकोमा रोम्वस ईङलिश स्कूललाईलाई कदरपत्र प्रदान गरिएको थियो ।