काठमाडौं ८ भदौं । जोरपाटीको नयाँवस्तीस्थित ख्वापा नाट्यशाला ‘मास्क थिएटर’ मा ‘टुम छ्याई’ मञ्चन भइरहेको छ । यसको अर्थ नेवारी बाजाको एक किसिमको बोल हो । जसलाई मान्छे मरेपछि घाटमा लैजादा बजाइने गरिन्छ ।
देशमा बाह्रैमास गाइजात्रा भइरहेको छ । यसैबेला यो नाटक मञ्चन गरिएको कलाकार भोला अधिकारीले बताए । नाटकले विकृति विसंगतिलाई हास्यव्यंग्यमार्फत प्रस्तुत गरिएको छ । ख्वापा नाट्यशालाले विभिन्न सामाजिक, ऐतिहासिक कथालाई प्राथमिकता साथ नाटकमार्फत मञ्चन गर्दै आएको छ । यसपटक नेवारी परिवेशलाई नाटकमा उतारेको ख्वापाले जनाएको छ ।
नाटकमा दुई परिवार हुन्छ । एउटा फर्सी र अर्को तीनपाते । तीनपाने सधैँ फर्सीको स्वास्नी गुद्रुकलाई पानी खाने निहुँमा भेट्न आइरहन्छ । आफ्नो स्वास्नीलाई आँखा लगाउने तँ भन्दै फर्सी बिच्किन्छ । तीनपानेको झगडा पर्छ । साउन २९ बाट मञ्चन भइरहेको यो नाटक ११ भदौसम्म चल्ने कलाकार प्रदीप नेपालले बताए ।
नाटकमा प्रदिप नेपालका अलावा अर्जुन बोहोरा, दिपुमाया तामाङ, सुरेन्द्रदेव कटुवाल, सुमित्रा मगर, उमा तामाङ, रामकृष्ण श्रेष्ठ, रवि कार्की, सुशान्त तामाङ, सम्झना मगर, भोला अधिकारीलगायतले अभिनय गरेका छन् ।