म्युजिक भिडियोमा तिम्ल्याहा डाक्टर दाजुभाई !
screennepal
प्रकाशित: २०७३, ५ भाद्र आईतवार
no img

काठमाडौं, ५ भदौं । तिम्ल्याहा दाजुभाई डा. सौरज देवकोटा, डा. सौगात देवकोटा र डा. सौजन देवकोटाले अभिनय गरेको गीतहरुको एल्बम एक कार्यक्रमबीच राजधानीमा सार्वजनिक गरिएको छ । सम्भवतः यो विश्वकै पहिलो तिम्ल्याहा दाजुभाईको संयुक्त भिडियो हो ।

_Q8W4397
कार्यक्रममा गीतकार डा. कृष्णहरी बरालले एकैदिन, एकैसमयमा, एकै कोखबाट जन्मी, एकैसाथ पढी, एकैसाथ डक्टर भएका यी तीन डाक्टरहरुले अभिनय गरेको ३ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका थिए । अर्को संयोगको कुरा, यी ३ डाक्टरले आप्mनै पिता शिवप्रसाद देवकोटाको हौसला नामक एलबमका ३ गीतमा अभिनय गरेका हुन् ।
गिनिज बुकमा नाम दर्ता गर्ने तयारीमा जुटेका डाक्टर छोराहरुलाई हुर्काई बढाएपछि उनका पिता शिवप्रासादले गीत गाउने रहर पुरा गरेका हुन् ।
कार्यक्रम प्रमुख अतिथी डा. बरालले तिम्ल्याहा सन्तान नै डाक्टर भएको र तीनैजनाले म्युजिक भिडियोमा अभिनय गर्नु विश्वमै नौलो घटना भएको चर्चा गर्दै उनीहरुलाई कीर्तिमानका लागि शुभकामना दिए। तिम्ल्याहामध्येका जेठो डा . सौरजले गिनीज बुकमा नाम दर्ता गराउने आफुहरुको अभियानमा सबैको सहयोग रहने अपेक्षा गरेको बताए । सँगै हुर्कियो, सँगै पढियो, सँगै डक्टर भइयो, अभिनय पनि सँगै गरियो उनले सुनाए ।

त्यसैगरी गीतकार, संगीतकार तथा गायक देवकोटाले तिम्ल्याहा सन्तानलाई हुर्काउन, बढाउन र पढाउन गर्नु परेको रोचक क्षणदेखि संघर्षको रहस्यसमेत फुकाउँदै गीत गाउने आप्mनो सपना सानैदेखिको भए पनि छोराहरु हुर्के बढेपछि उनीहरुकै प्रेरणा र साथले सपना पूरा गरेको बताए । त्यसै गरी एलबम र म्युजिक भिडियोको उत्पादक संस्था विन्ध्यवासिनी म्युजिक प्रालिका प्रवन्ध निर्देशक सुवास रेग्मीले गीत संगीतलाई समेत जोडेर गिनीज बुकमा नाम अंकित हुने अवसर पाउँदा गौरवबोध भएको बताए ।
यी तिम्ल्याहा डक्टर छोाराका गायक पिता शिवप्रसाद देवकोटाको हौसला शिर्षकको गिती अडियो एलबमका गीतहरुको म्यूजिक भिडियोमा सम्भवतः विश्वकै पहिलो यी तिम्ल्याहा डाक्टर छोराहरूले नै अभिनय गरेका छन् ।

विश्वकै पहिलो तिम्ल्याहा डाक्टरका रुपमा गिनीज वल्र्ड रेकर्डमा नाम अंकित गर्ने तयारीमा रहेका उनीहरु आफ्नै पिताको एल्वममा अभिनय गर्न पाउँदा खुशी छन् । कास्कीको लुम्लेमा वि.सं. २०२४ कात्तिक १ गते माता सरस्वती देवकोटा र पिता बृहस्पति देवकोटाका सन्तानका रूपमा जन्मनुभएका गायक शिवप्रसाद देवकोटाका यी तिम्ल्याहा छोराहरू डा. सौरज देवकोटा, डा. सौगात देवकोटा र डा. सौजन देवकोटाका साथै यी तिम्ल्याहाका दाजु सौरभ देवकोटाका पिता हुन् ।

माउण्ट एभरेष्ट मावि, थली, काठमाडौंका संस्थापक प्रधानाध्यापक देवकोटा ३ दशकदेखि सक्रिय रहँदै आएका छन् । शिक्षा क्षेत्रलाई मुख्य पेसा बनाई आफ्ना तिम्ल्याहा सन्तानको विशेष रेखदेख र मार्गनिर्देशन गर्ने यिनी आफैमा अन्र्तनिहित गायन प्रतिभा प्रस्फुटनका लागि निरन्तर साधनारत छन् । सरल स्वभाव मिष्टभाषी देवकोटा शिक्षासेवी, समाजसेवी तथा कुशल रचनाकार र सफल गायकको रूपमा प्रस्तुत भएका छन् । उनको हौसला नामक गीत आफ्नै शब्द संयोजन हो ।
तिम्ल्याहा डाक्टर देवकोटाहरूको जन्म, बाल्यकाल र शिक्षादिक्षाको रहस्यमय इतिहास आफैमा कौतुहलमय छ । माता सकुन्तला देवकोटाका गर्भबाट तिम्ल्याहा सन्तानको जन्म २०४८ असोज ५ गते शिक्षण अस्पताल महाराजगञ्जमा भएको थियो ।

त्यतिबेला कार्यरत प्रसुती डाक्टर सानुमाया दलीको कुशल निर्देशन र रेखदेखमा आफ्नो तिम्ल्याहा सन्तानको हेरविचार प्रोत्साहनमय भएको देवकोटा बताउँछन् । एकै गर्भबाट एकै पटक जन्मिएका कुनै पनि सन्तानको स्वास्थ्य स्थिति सामान्यतया नाजुक नै हुने गर्दछ । त्यतिबेला स्वास्थ्य शारीरिक र मानसिक स्वस्थता हुँदाहुदै पनि यी तिम्ल्याहाका लागि अत्यन्त सावधानी र निगरानीको साथै पालनपोषण व्यवस्था मिलाउन चुनौतीपूर्ण थियो ।

गायक देवकोटाले त्यसका लागि निकै सङ्घर्ष गरेका थिए । मानिसहरू सन्तानका भोका हुन्छन्, एउटा मात्र सन्तान हुर्काउदा पहाड जितेको अनुभव सगाल्नेहरूका लागि एकै चोटी तिनवटा छोरालाई हुर्काउनु, पालनपोषण गर्नु र शिक्षादिक्षाको उचित व्यवस्था मिलाउनु कम चुनौतिपूर्ण थिएन । हरेक कठोर सङ्घर्ष पछि व्यक्तिले सफलताको पहाड चुमेझै तिनैवटा पुत्ररत्न एकैपटक डाक्टरको रूपमा प्रस्तुत गर्न सक्नु देश र समाजका लागि पनि महत्वपूर्ण योगदान बन्न पुगेको छ ।

Comments