काठमाडौं, २४ साउन । ३२ साउनका राजधानीमा हुन गइरहेको ‘फाल्गुनन्द लिङ्देन फिल्म अवार्ड–२०७३’ (एफएलएफ’ मा मोडल तथा अभिनेत्री निशा पोमु शीर्ष अभिनेत्री विधामा मनोनयनमा परेकी छन् । पहिलोपटक आयोजना हुन गइरहेको यस ऐतिहासिक लिम्बू फिल्म तथा म्युजिक भिडियो अवार्डमा अभिनेत्रीको शीर्ष विधामा मनोनयनमा पर्न सफल भएपछि निशा फुरुंग छिन् । ‘यो मेरो लागि ठूलो कुरा हो’ स्क्रीन नेपालसँग निशाले भनिन्, ‘पहिलोपटक आयोजना हुन लागेको अवार्डमा मनोनयनमा पर्दा अत्यन्त खुशी छु ।’ उनी ‘लारिङेक नाम्लिङेक’ बोलको गीतबाट मनोनयनमा परेकी हुन् ।
‘लारिङेक नाम्लिङेक’ गीतको भिडियो निर्देशन देउमान केरुङले गरेका हुन् भने शब्द भगिराज इङ्नाम र लय श्याम इङ्लाको छ भने स्वर पनि श्याम र देशु सुहाङको छ । लिम्बू कला, संस्कृति झल्काउने यस गीतबाट अवार्ड पाउनेमा समेत निशा आशावादी छिन् ।
यो अवार्ड फाल्गुनन्द लिङ्देन फिल्म प्रालिले गर्न लागेको हो । अवार्ड कार्यक्रममा संयोजक दिनेश लिङ्देनका अनुसार पहिलोपटक हुन लागेकाले कार्यक्रमलाई भव्य र सभ्य बनाइने छ । कार्यक्रममा अहिलेसम्म बनेका लिम्बू भाषाका चलचित्र तथा म्युजिक भिडियोहरुलाई विभिन्न विधामा अवार्ड प्रदान गरिँदैछ । कार्यक्रम कमलादीस्थित नेपाल पज्ञा प्रतिष्ठानमा हुनेछ । यस कार्यक्रममा हालै गठिन हिलिहाङ हाक्पारे पालम समूहले विशेष प्रस्तुती दिने जनाएको छ । कार्यक्रममा निशाले एउटा गीतमा एकल नृत्य समेत प्रस्तुत गर्ने बताइ्न् ।