मेगास्टारले महानायकलाई गायक बनाए (गीत ५५ वर्ष पुरानो)
screennepal
प्रकाशित: २०७३, ११ श्रावण मंगलवार
no img

-एमपी सुब्बा

काठमाडौं, ११ साउन । मंगलबार बिहान १० बजे राजधानीको थापागाउँस्थित प्रज्ञा साउण्डमा नेपाली कला क्षेत्रमा दुई हस्ती राजेश एकसाथ भेटिए, जहाँ नेपाली चलचित्र क्षेत्रका ‘महानायक’ राजेश हमाल एउटा गीतको प्राटिक्स गर्दै थिए।
कुल्ची हिड हाँसी हाँसी यो छाती तिम्रै बाटो हो
मेरो देह केही होइन, यो त एक थुप्रो माटा हो

hamal singing, screennepal (1)
हमाललाई गाउन प्राटिक्स गराउने हस्ती हुन्, नेपाली सांगीतिक क्षेत्रका ‘मेगास्टार’ राजेशपायल राई । केही छिनको प्राटिक्सपछि हमाल स्टुडियो छिरे । त्यसपछि उनले रेकडिस्टको इसाराअनुसार गाउन सुरु गरे । हमाललाई गीत पूरा गर्न जम्मा १० मिनेट लाग्यो । हुन पनि गीत जम्मा चार लाइनको थियो । स्टुडियोबाट बाहिरिँदै हामालले भने, ‘गायक पनि भ्याइयो ।’ हमालले प्रज्ञा स्टडियोमा पुग्नेवित्तिकै भित्तामा टाासिएको एउटा पत्रिकाको कटिङमा आँखा लगाउँदै भनेका थिए, जुन कटिङमा लेखिएको थियो, ‘गायिकापछि नायिका’ । त्यही सम्झिँदै उनले भने, ‘मचाहिँ नायकपछि गायक ।’
हो, यी ‘महानायक’लाई ‘मेगास्टार’ राजेशपायलले गायक बनाएका छन् । राजेशपायलले हमाललाई आफ्नो आउन लागेको आफ्नो एल्बम ‘दर्शन नमस्ते–३’ का लागि गाउन लगाएका हुन् । तर, यति भनेर मात्र यो गीतको कथा पूरा हुँदैन । गायक राजेशपायलले हमालको स्वरमा गीत गराएपछि ‘दर्शन नमस्ते–३’ का लागि रेर्कडिङ सकिएको जानकारी गराइरहँदा यस गीतका गीतकार रत्नशम्सेर थापा त्यही थिए र, आफ्नो गीतको कथा उनैले निकाले ।

hamal singing, screennepal
‘यो गीत ५५ वर्र्ष मैले लेखेको हुँ’ बरिष्ठ गीतकार रत्नशम्सेरले भने, ‘गीत त के यो मुक्तक हो । यस गीतलाई गोपाल योञ्जनदेखि अम्बर गुरुङसम्मले मागेका थिए । तर, दिइनँ ।’ ५५ वर्षअघि नै लेखेको रत्नशम्सेरले बताएपछि त्यहाँ उपस्थित कलाकार तथा सञ्चारकर्मीले नपत्र्याझैं प्रश्न गरे, ‘हो र ?’ तुरुन्त गीतकारले जवाफ दिए, ‘हो, लेखेको त ६० वर्ष नै भयो होला, ५५ वर्षअघि त छापिएको हो ।’ उनले आफ्नो उक्त मुक्तक भनौं वा गीत त्यतिखेर ‘ज्योति’ नामक पत्रिकामा प्रकाशित भएको जानकारी गराउँदै भने, ‘अहिले म ७९ वर्षको भएँ ।’ गीतकार रत्नशम्सेरले आफ्नो यस गीतलाई तारादेवीलगायतका गायक/गायिकाले पनि गाउने प्रयास गरेको बताए । बालकृष्ण समदेखि लक्ष्मीप्रसाद देवकोटाहरुसम्मले पटक–पटक वाचन गर्न लगाएर सुनेको समेत बताउँदै रत्नशमसेरले वाचन गरेर पनि सुनाएका थिए ।
यसरी रत्न शम्सेरले आफ्नो गीतको कथा सुनाइरहँदा हमाल भने छट्टपट्टिरहेका थिए । कारण उनी त्यहाँबाट जति चाँडो बाहिर निस्किनु चाहन्थे किनकि, उनी आजै ‘मंगलबार’ उड्दैछन् (थिए) । तर, राजेशपायलले एकपटक सनेरमात्र जान आग्रह गरेका थिए । आफ्नो आवाज सुनेपछि हमालले भने, ‘वाह, बबाल’ । रत्न शम्सेर जस्ता गीतकार तैमाथि ५५ वर्ष पुरानो गीत गाउन पाउँदा खुसी र गर्व लागेको हमालले सुनाए ।  
हुन त हमालले मुक्तक वाचनमात्र गरेका हुन् । यसै शब्दलाई राजेशपायलले नै गाएका छन् । तर, हमालको शब्द वाचनपछि मात्र पायलको स्वर सुन्न सकिन्छ । यस गीतलाई हरि लम्सालले संगीत गरेका हुन् । यो राजेशपायलको अहिलेसम्मका गीतभन्दा फरक बनेको छ । हुन त यस्तोे कन्सेप्टमा अहिलेसम्म अरु नेपाली गीत बनेकै छैन भन्दा फरक पदैन । यस गीतको एरेञ्ज किरण कँडेलले गरेका हुन्, जसको प्रशंसा गरिरहन आवश्यक छैन ।
राजेशपायलले यस गीतको भिडियोमा हमालले नै अभिनय गर्ने समेत बताए । उनको अनुसार ‘दर्शन नमस्ते–३’ आउँदो भदौको तेस्रो साताभित्र सार्वजनिक हुनेछ, त्यतिखेर हमालकै स्वरमा अभिनय पनि हेर्न सकिनेछ । एल्बममा जम्मा ९ वटा गीत रहने पनि राजेशपायलले सुनाए । अरुभन्दा गायनमा केही फरक गर्न चाहने राजेशपायलले यसपटक पटक झनै फरक गरेका छन् । फरक कामकै कारण नेपाली गायनमा ‘राई इज किङ’ हुँदै ‘मेगास्टार’ बनेका राजेशपायलले भने, ‘धुम मच्चाउन केही त फरक गर्नु परो नि ।’ यो गीत रेकर्डिङमा राजेशपायलले निर्देशक मिलन चाम्सलगायतलाई पनि स्टुडियोमा निम्ताएका थिए ।

गीतको पूरा अंक यस्तो छ :

कुल्ची हिड हाँसी हाँसी यो छाती तिम्रै बाटो हो
मेरो देह केही होइन, यो त एक थुप्रो माटा हो
गालाको पाटोको लामो धर्सो त्यो घाउ होइन
त्यो त झरी सुकेको एक थोपा आँशुको टाटो हो ।

Comments