काठमाडौं, २ साउन । ‘द सुपर मोडल्स नेपाल’ को उपाधि इच्छा कार्कीले चुमेकी छन् । राजधानीमा शनिबार सम्पन्न प्रतियोगितामा आफ्ना ४९ जना स्पर्धीलाई उछिन्दै लाजिम्पाटकी इच्छा ‘द सुपर मोडल्स नेपाल–२०१६’ को बन्न सफल भएकी हुन् ।
मोडलिङमा आत्मविश्वास, आकर्षक व्यक्तित्व, प्रभावकारी अभिव्यक्ति तथा ग्ल्यामरस छविको संयोजन गर्ने उद्देश्यले प्यासेफिक इभेन्टस् एण्ड म्यानेजमेन्टले पहिलोपटक आयोजना गरेको प्रतियोगितामा इच्छाले शीर्ष उपाधिसँगै बेष्ट स्कीनको अवार्ड समेत हात पारेकी छन् ।
५० जना युवतीबीच भएको प्रतिस्पर्धामा उत्कृष्ट २० चयन भएसँगै मौखिक प्रश्न उत्तरचरण र अन्ततः अन्तिम ७ प्रतिस्पर्धीबीचको निर्णायक प्रतिस्पर्धाबाट विजेताको चयन गरिएको थियो ।
रोजिन शाक्यको कोरियोग्राफीमा भएको यस प्रतियोगितामा आयुष्मा शाही उप विजेता बनिन् भने सोरु बराइली पर्सनालिटी तथा फोटोजेनिक अवार्डका हकदार बनिन् । यसैगरी ऋचा सिटौला पब्लिक च्वाइस अवार्ड, दीपा श्रेष्ठ वेष्ट वाक, हेमा हमाल स्टाइलिस, क्यारोलिन चन्द वेष्ट फिगर, अमिशा देवकोटा कन्जिनियालिटी तथा अस्मिता श्रेष्ठ वेष्ट हेयर अवार्डका विजेता भए । कार्यक्रममा नेपाः डान्स एकेडेमीका कलाकारले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।