काठमाडौं, ३१ असार । मोडल तथा अभिनेत्री बिनिता बराल अरुभन्दा फरक काम गर्न चाहन्छिन् र उनको सोच पनि बदलिरहन्छ । रंगीन मोडलिङमा रमाउँने सपनाको पल्लाभारी बोकेर चितवनबाट राजधानी छिरेकी बिनिताले जब चलचित्र ‘चपली हाइट’ बाट अभिनयमा डेब्यु गरिन्, तब उनी रातारात चर्चामा आइन् । हुन त मोडलिङमै पनि उनको राम्रै चर्चा थियो । तर, मोडलिङबाट चलचित्रमा आउँदा चर्चा पाएकी विनिताले अग्र्यानिक खेतीतिर लागेपछि अर्को चर्चा बटुलिन् ।
‘अग्र्यानिक’ चर्चा पाइरहेकै बेला अमेरिकातिर हानिएकी विनिता अहिले फेरि चर्चामा आएकी छन् । यो उनको चर्चाको कारण हो, ‘जुइनो’ । यसै ‘जुइनो’मार्फत बिनिता लेखक अर्थात् उपन्यासकार बनेकी छन् । ‘जुइनो’ बिहीबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । ‘जुइनो’लाई अभिनेत्री ऋचा शर्मा र उनै बिनिताले सार्वजनिक गरेका थिए । र, उनीहरुबीच उपन्यासमाथि बहससमेत गरे । ‘चपली हाइट’बाट ‘चपली गर्ल’ बनेकी उनलाई अब ‘जुइनो गर्ल’ भन्दा फरक हुन्न ।
अभिनेत्री शर्माले ‘जुइनो’ खाशै आस नराखी पढेको र बराललाई अब लेखकभन्दा फरक नपर्ने बताइन् । विनिताले कृषक हुँदै लेखक बनेको ‘कथा’ ऋचालाई सुनाएकी थिइन् । विनिताले कृषकको अनुभवले उपन्यास लेखक बनाएको सुनाउँदै भनिन्, ‘कृषि लेख्नु थियो । तर, उद्देश्य बदलिएर जुइनो लेखेँ ।’ उनले जुइनो प्रेमकथा नभए र कृषिकथा भएको बताइन् ।
कार्यक्रममा अभिनेत्री शर्माले उपन्यास पढिरहँदा फिल्म हेरेजस्तै लागेको बताइन् । जसको जवाफमा विनिताले भनिन्, ‘मलाई खुशी बनाएर कथालाई न्याय दिन सक्ने व्यक्तिले प्रस्ताव ल्याए फिल्म बनाउने कुरामा सकारात्मक छु ।’ ‘जुइनो’ लाई फाइनप्रिन्टले प्रकाशन गरेको हो ।