काठमाडौं, २४ असार । कमल जिसीलाई झट्ट देख्दा पत्याउनै गाह्रो पर्छ जबकि, यिनले यति धेरै काम ग¥यो र ? तर, मान्छे सानो भएपनि उनको हिम्मत ठुलै छ । गुल्मी इस्मा रजस्थलका कमल गीतकार, संगीतकारलाई यतिबेला कार्यक्रम आयोजकका रुपमा बढी चिनिन्छन् । उनले देशको झण्डै ४६ जिल्लामा राजेश हमाल, भुवन केसी, लोकदोहोरी गायक रामजी खाँडलगायत चर्चित गायक, कलाकारको उपस्थितिमा कार्यक्रम गरीसकेका छन् ।
‘भन्ने गर्थे बाले ए काले काले…’, उनकै शब्द, संगीत रहेको दोहोरी अत्यन्तै चलेको थियो । बीचमा दर्जनौं शब्द, संगीत सिर्जना गरे भने पछिल्लो समयमा लाग्यो मलाई बाडुली कुक्क…, बोलको दोहोरी गीत जनमानसमा लोकप्रिय बनिरहेको छ । विगतमा कमलले होटलमा भाडा माझ्नेदेखि किराना पसल, पत्रिका बाड्नेसम्मका काम गरेको अनुभव छ । विगत कष्टकर बितेपनि अहिले उनी लोक दोहोरी क्षेत्रमा सफल शव्द, संगीतकारका रुपमा चिनिन्छन् ।
पारिवारिक वातावरण पनि उनको संगीतमय थियो भने आमा तुलशा गीत गाउँथिइन् । त्यस्तै, बुबा रामबहादुरले बाँसुरी बजाउँने गरेको उनले सुनाए । त्यसैको प्रभाव विस्तारै आफूमा परेको सुनाउँदै उनले भने, ‘गीतसंगीत क्षेत्रमा लागेर आफ्नो दैनिकी नचल्ने देखेपछि कार्यक्रम अर्गनाइजेसनप्रति बढी सक्रिय भएको हुँ ।’
साँस्कृतिक कार्यक्रमको सिलसिलामा पुगेका जिल्लाहरुमा बसोबास गर्ने जातिय भाषा, संस्कृति र लोपोउन्मुख कल्चरको संरक्षण गर्ने हेतुले भिडियो बनाएर सुरक्षित गर्नुका साथै बेलाबखत ति चिजबारे सम्बन्धित निकायमा कुरा उठाउँदा कतैबाट पनि सुनुवाई नभएको उनले बताए ।
उनले भने, ‘जाजरकोटको थलह भन्ने ठाउँको कार्यक्रममा नायक राजेश हमाललाई लिएर पुग्दा स्थानीय बासिन्दा खुशी त हुने भैहाले, खराब बाटोका कारण नायक हमाल धुलोले अनुहार नचिनिने अवस्थामा हुँदा पनि उनको मन्द मुस्कानसहितको हामीप्रति देखाउँनु भएको सद्भाव अझै पनि मानसपटलमा घुमिरहन्छ ।’ अब लोपोन्मुख नेपाली कला सस्कृतिलाई विश्वसामु चिनाउने आफ्नो चाहना रहेको उनले बताए ।