मितेरी भज्याङमा रन्कियो लोक नृत्य
screennepal
प्रकाशित: २०७३, १३ असार सोमबार
no img

ओखलढुंंगा । स्थानीय नृत्य र गीतसंगीतमा रमाउँदै आएका हिलेपानी थाक्लेका बासिन्दाले मेचीदेखि महाकालीसम्मका नृत्य हेर्ने अवसर पाए । थाक्लेस्थित मितेरी भज्याङमा आयोजित ‘बृहत लोकसंस्कृति नाच तथा थुम्का सिद्धबाबा धार्मिक पर्यटकीय स्थल विकाश अभियान समुद्घाटन सामारोहमा काठमाडौंबाट गएका सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)का कलाकारले त्यहाँ विविध नेपाली लोक नृत्य प्रस्तत गरेका हुन् ।

???????????????????????????????
शनिबार मध्यान्नपछि ओखलढुंगाका सांसदद्धय रामहरि खतिवडा र यज्ञराज सुनुवारले थुम्का सिद्धबाबा पर्यतटकीय स्थलका लागि बनाइएको नयाँ मार्गको उद्घाटन गरेपछि बृहत लोकसंस्कृति नाच सुरु भएको थियो ।
महादेबस्थान माविका विधार्थीले प्रस्तुत गरेका स्वागत नृत्यबाट सुरु भएको सो कार्यक्रममा सांस्कृतिक संस्थानका कलाकार मदन थापाले मयुर नृत्य प्रस्तुत गरेपछि कार्यक्रमको रौनक बदलिएको थियो ।
संस्थाका कलाकारले सो लोकसंस्कृति उत्सबमा पूर्वी नेपालको साकेला सिली, सुदुर पश्चिम क्षेत्रको हुड्केली नृत्य, तामाङ समुदायको तामाङ सेलो, हिमाली क्षेत्रको याक नृत्य, मध्यपश्चिमको ट्याम्कुली नृत्य, पश्चिमी क्षेत्रको कौडा नृत्य जस्ता विभिन्न लोक नाच प्रस्तुत गरे ।

???????????????????????????????
संस्थानका कलाकारहरु अञ्जु रञ्जितकार, अञ्जु आले, सारदा सिलवाल, सवनम सिलवाल, मायाँ थापा, शुशिला थापा, सिता कार्की, मनोज जोशी, केशवराज राई, गोरन चौधरी, रेशम पुन, श्रीहरि फुयाल, छबी थापा, खिम बलम्पाकीले यी नृत्यहरु प्रस्तुत गरेका थिए । सांस्कृतिक संस्थानका नृत्य निर्देशक बिजय मानन्धर र हास्यव्यँग कलाकार रमेश केसी मट्टारेले झाँकी नाचसँगै प्रस्तुत गरेको प्रहसन दर्शकले खुब रमाईलो मने । अर्का हास्य कलाकार आरपी भट्टराईले माली गाउँको घ्यूसहित आफ्ना चार ओटा गीत सुनाएर दर्शकको मन जिते ।
सांस्कृतिक संस्थानका कार्यक्रम प्रमुख एवं अग्रज कलाकार प्रभाकर शर्माले गाउँ गाउँमा नाचघर, घर घरमा सिंहदरबार भन्ने संस्थानको नारालाई साकार तुल्याउन ओखलढुँगाको मितेरी भँज्याङमा विविध लोक नृत्य प्रस्तत गरेको बताए ।
सो लोक नाच कार्यक्रममा स्थानीय फुलवारी युवा क्लबका बालबालिकाले धान नाच, जनज्योती आमा समुह थाक्ले–७ ले सँगीनी गायन एवं नृत्य, मितेरी युव क्लब, सुनाखरी युवा क्लब, सुनकोशी मावि, दुधकोशी मावि, महादेबस्थान माविका तर्फबाट पनि स्थानीय लोक नृत्य एवं गीतसंगीत प्रस्तुत गरिएको थियो ।
थाक्लेका जन्मिएका राष्ट्रगानका सर्जक एवं सो कार्यक्रमका संयोजक व्याकुल माईलाले राष्ट्रिय स्तरका कलाकारबाट सो क्षेत्रमा देशभरका विविध लोक नाच प्रस्तुत गर्दा स्थानीय कलाकारले सिक्ने र स्थानीय बासीले जान्ने अबसर पाएको बताए । थुम्का सिद्धबाबाको प्रचार संगै सो अभियानमा सघाउने विभिन्न व्यक्तिहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो । ओखलढुँगाका साँसदद्धय रामहरि खतिवडा र यत्रराज सुनुवारले राष्ट्रिय स्तरका कलाकारले स्थानीय पर्यटन प्रवर्धन प्रस्तुत गरेको लोक नृत्यले सांस्कृतिक आदनप्रदानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Comments