विरेन्द्रहाङ र विजेताको ‘अनमोल’ सार्वजनिक (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, ८ असार बुधबार
no img

काठमाडौं । गीतकारद्वय विरेन्द्रहाङ लाबुङ लिम्बू र विजेता थेबे लिम्बूको संयुक्त आधुनिक गीति एल्बम ‘अनमोल’ सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक समारोहबीच नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा कवि बैरागी काइँला, भर्सस्टाइल गायक राजेशपायल राई, बरिष्ठ संगीतकार राजु सिंह र लिम्बू भाषाविद् तथा कलाकार यासेली योङ्हाङले संयुक्त रुपमा एल्बमको लोकार्पण गरे ।

IMG_2452

एल्बम लोकार्पणपछि प्रमुख आतिथि कवि बैरागी काइँलाले गीतकारद्वयको चर्चा गरेका थिए । त्यस्तै, कार्यक्रममा राजेशपायल राई, राजु सिंह र यासेलीले पनि विमोचित एल्बम तथा नेपाली गीतसंगीतबारे चर्चा गरेका थिए । कार्यक्रममा बोल्दै गायक राजेशपायलले भने, ‘अहिले आइरहेका कलाकारहरु प्रतिभावान छन् । गीतसंगीतमा केही गरौं भन्ने भावनाले आइरहेका छन् । राम्रै आइरहेका छन् ।’ उनले सुरुमा सबै नयाँ हुने भएकाले कलाकारितामा यो नयाँ र त्यो पुरानो भन्न नमिल्ने पनि बताए ।
अमेरिकामा बस्दै आएका गीतकार विरेन्द्रहाङ र विजेताको संयुक्त एल्बम ‘अनमोल’ को चर्चा गर्दैै काइँलाले भने, ‘विदेशमा रहेर पनि एल्बम निकाल्नु भनेको गीतकारद्वयको नेपाली गीतसंगीतप्रति लगाव हो । यस्ता कार्यले नेपाली गीतसंगीतमा अवश्य टेवा पुग्नेछ ।’

IMG_2455
विमोचित एल्बममा नौवटा गीत छन् । जसमा शंका नै हो, नआयौं तिमी, बसेको छौं, रहर होइन मेरो, खुसी लाग्ने, मेरो आफ्नो भन्छौ, अनमोल, पिरतीको डोरी र पिरतीको हाम्रो यात्रा बोलका गीत छन् । ताराप्रकाश लिम्बू, राजु सिंह, उदय सोताङ र जन्म राईको संगीत रहेको एल्बम ‘अनमोल’ मा राजेशपायल राई, उदय सोताङ, मनिला सोताङ, दीपक लिम्बू, जगदिश समाल, मिलन अमात्य, मेलिना राई, कुशल थलङ र कञ्चन थलङको स्वर रहेको छ । नौ गीतमध्ये तीनमा ताराप्रकाशको संगीत रहेको ‘अनमोल’ मा पाँच गीत विरेन्द्रहाङको शब्द रहेको छ भने अन्य बाँकीमा विजेताको छ ।
यस एल्बमलाई रुबुशा क्रिएटिभ वर्कसले  बजारमा ल्याएको हो । यो कम्पनी गायक रुखमान लिम्बूको हो । कार्यक्रममा दुई गीतको म्युजिक भिडियोसमेत देखाइएको थियो ।

Comments