‘विश्व संगीत दिवस’मा अग्रज स्रष्टालाई सम्मान
screennepal
प्रकाशित: २०७३, ८ असार बुधबार
no img

काठमाडौं । वर्षकै लामो दिन २१ जुनलाई विश्वभर विश्व संगीत दिवसको रुपमा मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मंगलबार विश्व संगीत दिवस मनाइएको छ ।
सो अवसरमा सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल सांगीतिक संघ र नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयले नाचघरमा संयुक्त रुपमा विविध कार्यक्रम गरे ।
नेपाली संगीत क्षेत्रमा आजिवन योगदान दिएको भन्दै विभिन्न अग्रज स्रष्टालाई कार्यक्रममा बिशिष्ट सम्मानबाट सम्मानित गरिएको छ । सम्मानित हुनेमा नृत्य निर्देशक भैरवबहादुर थापा, अग्रज संगीतकारहरु चन्द्रराज शर्मा, रञ्जित गजमेर, योगश बैध, गीतकार किरण खरेल र बाद्यबादक भगतसिंह बागदास थिए ।

_MG_8894
यस्तै, संगीतकार प्रकाश गुरुङ, मनोहर सुनाम, अमुल कार्की ढली, सन्तोष श्रेष्ठ, गीतकार श्रीपुरुष ढकाल र दिनेश थपलियालाई कार्यक्रममा सम्मान गरियो ।
उपराष्ट्रपति नन्दबहादुर पुन, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटा, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा र नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्टार राजेन्द्र सिग्देलले सो सम्मान प्रदान गरेका हुन् ।
उपराष्ट्रपति नन्दबहादुर पुनले विश्व संगीत दिवसको अबसरमा सबैलाई शुभकामना दिँदै गीत संगीत मानिसको हरपलको साथी भएको बताए । उनले संगीत र कला बिना जीवनको कल्पना गर्न नसकिने धारणा राख्दै स्रष्टालाई राष्ट्रबाट सम्मान हुनु पर्छ भने । लोकसँगीतबाट सुरु भएको नेपाली संगीत आधुनिक र पाश्चात्य शैलीको हुँदै अहिलेको अबस्थासम्म आईपुगेको पनि उपराष्ट्रपति पुनले बताए ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटाले विश्वसंगीत दिवसको सो अबसरमा नेपाली संगीतलाई अन्तराष्ट्रिय क्षेत्रमा पु¥याउन सबैले प्रण गर्नु पर्ने बताए ।
यस्तै सबैलाई स्वागत गर्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले संगीतको भाषा संसारमा एउटै हुने र संगीतले संसारभरका मानिसलाई भावनात्मक रुपमा एकताको सुत्रमा बाँधेको हुनाले विश्व संगीत दिवस २१ जुनमा मनाईने गरेको बताए ।
नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्टार राजेन्द्र सिग्देललेले बौद्धिक सम्पतिलाई सम्बन्धित स्रष्टाको स्वीकृति बिना व्यबसायिक प्रयोग नगर्न सबैलाई अनुरोध गरे ।
नेपाल संगीतिक संघका अध्यक्ष मिलन मोक्तानले संगीतको महत्व बारे प्रकाश पार्दै संघले विभिन्न संस्थासंग मिलेर विश्व संगीत दिवस मनाउँदै आएको जानकारी गराए ।
नेपाली सेनाको सांगीतिक व्याण्डको प्रस्तुतिबाट सुरु भएको सो कार्यक्रममा नेपालका विभिन्न साँगीतिक संघ संस्थाले विभिन्न गीतसंगीत प्रस्तुत गरे ।
सो क्रममा सांस्कृतिक संस्थानका कलाकारहरुले मंगलधुनसँगै स्वागत नृत्यबाट अतिथिको स्वागत गरेका थिए । कार्यक्रममा संस्थानका कलाकारले राष्ट्रिय गीत एवं नृत्य, सिंगारु नृत्य, विभिन्न लोक नृत्यबाट दर्शकलाई मनोरञ्जन प्रदान गरे ।
अग्रज कलाकार रञ्जित गजमेरले बाँसुरीबादक जेबी लामासंग प्रस्तुति गरेको अतिथि साँगीतिक प्रस्तुति मिठो थियो । नेपाल सांगीतिक संघका कलाकार मिलन मोक्तान, सन्तोष श्रेष्ठ, मनिषा पोखरेल लगायतले संस्थागत नेपाल सांगीतिक संघ…गीत प्रस्तुत गरे । र संगीतकार संघ नेपालका महेश खड्का, लक्ष्मण शेष, बसन्त सापकोटा, चेतन सापकोटा, शान्तिराम राईलगायतका कलाकारले जय जय नेपाल.. गीत प्रस्तुत गरेर विश्व संगीत दिवस मनाए ।
सोही कार्यक्रममा आदिबासी जनजाति कलाकार संघका कलाकारले हामी आदिबासी…, तामाङ कलाकार संघका तर्फबाट इन्दिरा गोलेले छयामाले बुनेको यो डम्फु…गीत गाएर दर्शकलाई नचाईन् ।
मध्य पश्चिमाञ्चल सांस्कृतिक प्रतिष्ठानका खर्क बुढा र उनको मादल टोली कमल गाउँले लगायतले मादल र कृष्ण गुरुङले बाँसुरी बादनमा रोचक प्रतिस्पर्धा गरे । तमु कलाकार संघका तर्फबाट कृष्ण गुरुङ र उनका सहयोगीले गायको सालै जो भाकामा दर्शक ननाची रहन सकेनन् । नेपाल मगर सांस्कृतिक संघको टप्पा पनि आकर्षक थियो ।
शास्त्रीय बादन तर्फ नगेन्द्र राई र उनका साथी जगन्नाथले बाँसुरी र तवला मार्फत हंसध्वनी राग, रुपक ताल र द्रुत लय मार्फत दर्शकको मन जिते । एलआरआई स्कुल कलंकीका विधार्थीहरुले प्रस्तुत गरेका बृहत अर्केस्ट्रामा पनि दर्शकले निरन्तर तालीले साथ दिए । यस्तै साधना कला केन्द्रको लोक नृत्य पनि आकर्षक थियो ।

Comments