… दुर भएर के भो । अम्बर गुरुङप्रति हार्दिक श्रद्धाञ्जली
screennepal
प्रकाशित: २०७३, २५ जेष्ठ मंगलवार
no img

– एमपी सुब्बा

काठमाडौं । ‘म दूर भएर के भो र…’ हो, बरिष्ठ संगीकार अम्बर गुरुङ हामीबाट दूर भएका छन् । तर, दूर भएपनि उनका कालजयी गीत र सम्झना सधैं हामीमामाझ रहिरहनेछ । राष्ट्रिय गानका संगीतकारसमेत रहेका अम्बरले ७९ बर्षको उमेरमा यो लोक छाडेर परलोक भए । तर, ‘नौ लाख तारा उदाए’, ‘उकाली चढ्दा’, ‘जंगी निशान हाम्रो’, ‘जीन्दगीका के कुरा’, ‘म दूर भएर के भो र…’ जस्ता दर्जनौ गीतहरु लोकमै गुञ्जिरहनेछन् ।

Amber-Gurung
नेपाली गीतसंगीतका धरोहर अम्बर गुरुङको ग्रान्डी अस्पतालमा उपचारकै क्रममा मंगलबार बिहान निधन भएको थियो । अम्बर गुरुङ लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट ग्रसित थिए । उनको निधनको खबर फैलिनेवित्तिकै सामाजिक सञ्जाल फेसबुक र ट्विटरको वाल श्रद्धाञ्जलीका शब्दले भरिएका छन् । विभिन्न कलाकार, स्रष्टा र उनका प्रसंशकले शोक व्यक्त गर्दै श्रद्धाञ्जली दिइरहेका छन् ।
सन् १९३८ फेब्रुअरी २६ मा भारतको दार्जिलिङमा जन्मिएका अम्बरको पुख्र्यौली घर गोरखा जिल्लाको रिसिङ हो । नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपतिसमेत रहेका गुरुङ बि.स २०५२ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानको निर्देशक रहेका थिए ।
‘नौ लाख तारा उदाए’ बोलको गीतबाट नेपाली संगीतमा पाइला टेकेका अम्बरले ‘अक्षरका आवाजहरू’, ‘कहाँ गए ती दिनहरू’, ‘कहिले लहर कहिले तरंग’ र ‘सम्हालेर राख’ लगायतका कृति नेपाली संगीत क्षेत्रलाई दिएका छन् ।
पाँच दशक संगीतको साधनामै बिताएका अम्बरले नेपाली कला र संस्कृतिको उत्थानमा पु¥याएको योगदान स्वरुप २०५४ सालको जगदम्बाश्री पुरस्कारबाट सम्मान गरिएको थियो । त्यस्तै २०२८ सालमा गोरखा दक्षिणबाहु चौथो, २०३८ सालमा इन्द्रराज्यलक्ष्मी पुरस्कार, २०४७ सालमा छिन्नलता गीत पुरस्कारलगायतका सम्मानद्वारा सम्मानीथ भएका थिए ।
पछिल्लो समय नेपाली राष्ट्रिय गान ‘सयौं फुलका थुँगा’ को संगीत गरेपछि उनले आफ्नो संगीत इतिहासमा अर्को इँटा थपेका थिए । अम्बरको सयौंको संख्यामा लोकप्रिय तथा कालजयी गीतमा स्वर र संगीत दिएका छन् ।
अम्बरले महाकवि लक्ष्मीप्रसाद देवकोटाको लोकप्रिय गीतिनाटक कुन्जिनी र मुनामदन, राष्ट्रकवि माधव घिमिरेको लोकप्रिय गीतिनाटक मालति मंगलेलगायतका कृतिमा पनि संगीत दिएका थिए । स्वर्गीय अम्बरका पत्नी, तीन छोरा र एक छोरी छन् ।

Comments