काठमाडौं । साम्राज्ञीश्री बस्नेत १४औं किड क्वीन नेपाल बनेकी छन् । नेप्लीज फेसन होमद्वारा शनिबार राजधानीमा आयोजित ‘किड क्वीन नेपाल–२०१६’ मा आफ्ना १९ स्पर्धीलाई उछिन्दै ठमेलकी १० वर्षीया साम्राज्ञी शीष विजेता बन्न सफल भएकी हुन् । उनले उपाधीसहित विभिन्न उपहार प्राप्त गरिन् भने ‘मिस फोटो जेनिक’ को उपाधिसमेत जितिन् ।
राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रेक्षालयमा सम्पन्न प्रतियोगितामा बसुन्धाराकी १२ वर्षीया सम्झना लामा मोक्तान फस्ट रनरअप र १३ वर्षकी चावहिलकी समृद्धी गौतम सेकेण्ड रनरअप भए । अन्तिम स्पर्धामा २० प्रतियोगीबीच भिडन्त भएको थियो ।
यस्तै, विभिन्न उपाधिका लागिसमेत प्रतिस्पर्धा भएको थियो । जसअन्तर्गत मिस ट्यालेन्ट दीया थापामगर, बेस्ट ड्रेस कृषा दाहाल, सोसल वेलफेयर एम्बेस्डर चिफ अनुषा घिमिरे र दीया पोखरेल, मिस पर्सनालिटी तनुश्री मानन्धर भए भने मिस डिसिप्लेनको उपाधि रिधिशा श्रेष्ठले, मिस बेस्ट हेयरको उपाधि आर्या आचार्यले पाए ।
बेष्ट स्किनको उपाधि नवोदिता तिमिल्सिना, बेस्ट स्माईल उपाधि सोनुका लामाले, मिस चार्मिङ एञ्जल राई, मिस फेण्डसिप कृतिका गौतम र मिस इन्नोसेन्टको उपाधि सर्वश्री अधिकारीले हासिल गरे ।
कार्यक्रमको निर्णायकमा वी विल राईजका अध्यक्ष निर्वाण श्रेष्ठ, नेपाल बुटिक एसोसिएनका संस्थापक अध्यक्ष उज्वलकृष्ण श्रेष्ठ, सञ्चारकर्मी झरना अधिकारी, किड क्विन नेपाल–२०१३ शर्मिला हमाल, अधिवक्ता लक्ष्मण महर्जन, ब्युटिसियन मञ्जु कार्की, मिस नेवा ११३६ एञ्जल श्रेष्ठ र फेशन डिजाईनर शोभा महर्जन थिए । प्रतियोगिताको कोरियोग्राफी रोहिया महर्जनले गरेकी थिइन् । बालिकाको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिका लागि १४ वर्षयता किड क्विन नेपालको आयोजना गर्दै आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले बताइन् । सौजन्य तस्बिर : तस्बिर स्टुडियो बागबजार प्लाजा