काठमाडौं । ‘किड क्वीन नेपाल–२०१६’ प्रतियोगीले शनिबार आफ्नो कला देखाए । ग्वार्कोस्थित १९९९ एडी पार्टी प्यालेसमा आयोजित ‘ट्यालेन्ट राउण्ड’ अन्र्तगत कार्यक्रममा उनीहरुले कला तथा प्रतिभा पस्केका हुन् । प्रतियोगिताको यस १४औं संस्करणमा २० स–साना नानीहरुले स्पर्धा गरिहेका छन् ।
‘ट्यालेन्ट राउण्ड’ मा उनीहरुले विभिन्न पप तथा आधुनिक नेपाली गीतमा नृत्य गरे । केहीले गीत गाए भने कसैले अभिनय । प्रतियोगिताको ‘ट्यालेन्ट राउण्ड’ का लागि अहिलेकी मिस नेवाः एञ्जेल श्रेष्ठ, फेसन डिजाइनर शोभा महर्जन, १९९९ एडी सञ्चालक उज्जलकृष्ण श्रेष्ठ, जुना श्रेष्ठ, मञ्जु कार्की, लक्ष्मण महर्जन र रिना श्रेष्ठ निर्णायक रहेका थिए । प्रतियोगिताको फाइनल यही आउँदो जेठ २२ गते राजधानीमा हुने आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले बताइन् । उनका अनुसार ‘ट्यालेन्ट राउण्ड’ को नतिजा फाइनलकै दिन घोषणा गरिनेछ ।