काठमाडौं । दरबारमार्गस्थित होटल अन्नपुर्णमा शुक्रबार राति फेसन डिजाइनरहरु स्पर्धामा उत्रिए, जहाँ २४ युवती तथा ८ युवा मोडलले प्रतिस्पर्धी नवप्रतिभावान् फेसन डिजाइनहरुको सृजनशीलतालाई प्रदर्शन गरेका थिए ।
फेसनप्रति बदलिँदो शैलीलाई व्यवसायिक दायरामा ल्याउँने उद्देश्यले आयोजित ‘भोयाज अफ क्रियसन सिजन टू’ मा लबिन राईका सृजनाहरुले निर्णायक प्यानलको मन जित्न सफल भयो, र ‘भोयाज अफ क्रियसन सिजन टू’ विजेता चयन भए भने प्रतियोगितामा अमृता सारु, सुशान्त पुडासैनी र पूजा गुरुङको समूह फस्ट रनरअप तथा सपना श्रेष्ठ र सुजिता मानन्धरको जोडी सेकेन्ड रनरअप उपाधी जित्न सफल भए ।
कार्र्यक्रममा ओपनिङ प्रस्तुतिका रुपमा स्टिीच ल्याण्डकी अञ्चु पाण्डेद्वारा तयार पारेका इन्डो वेस्टर्न फ्युजन शैलीका पहिरनहरुमा मोडलहरुले प्रस्तुत गरेका थिए, जसमा चर्चित मोडल समेत रहिसकेका ‘आशिकी ब्वाय’ बलिउड अभिनेता राहुल रोय र भारतीय सुपर मोडल एवं नवअभिनेत्री साधना सिंहले शो स्टपरका रुपमा -याम्प नापेका थिए । लाजिम्पाटस्थित नेपाल इन्स्टिच्युट अफ फेसन, नीफको आयोजनामा संचालन भएको यो प्रतियोगितात्मक फेसन कार्यक्रमलाई ह्याट्स इन्टरटेन्मेन्टको सहकार्यमा जिरो ग्रुप इभेन्टस्ले व्यवस्थापन गरेको थियो ।
कार्यक्रमका लागि मोडलहरुको ग्रुमिङ एवं कोरियोग्राफी रोजिन शाक्य र बलिउडका कोरियोग्राफर लक्की सरीनले गरेकी थिइन् भने कार्यक्रमको ओपनिङ तथा केही सिक्वेन्सको कोरियोग्राफी संजीव झाले गरेका थिए । विभिन्न थीममा आधारित पहिरनशैली प्रस्तुत गरिएको भए पनि मूलतः रेड कार्पेट गाउनका विभिन्न शैलीहरु, नी लेन्थ वन् पिस ड्रेसहरु, स्कर्ट ड्रेस, लेहेंगा, सर्कुलर ड्रेस, ए लाइन ड्रेसहरुको बाहुल्यता रहेको थियो ।
फेसन डिजाइनरद्धय अनु श्रेष्ठ र नुजत काजी, ब्युटीसियन कमला श्रेष्ठ, फेसन कोरियोग्राफर प्रशान्त ताम्राकार, नमूना कलेजका सह प्रधानाध्यापक जिवेश्वरलाल श्रेष्ठ र मिस नेपाल २०१५ इभाना मानन्धर प्रतियोगिताको निर्णायकका रुपमा रहेका थिए । प्रतियोगितात्मक फेसन कार्यक्रममा एकल तथा समूहगत गरी १८ सिकेन्वस मार्फत् तीन दर्जन भन्दा बढी फेसन डिजाइनिङ अध्ययन गर्दैै गरेका विद्यार्थी फेसन डिजाइनरहरुले आफ्नो सृजना पस्केका थिए । कार्यक्रममा अफ्रिकी डिजाइनर मारियम डियालो बुसाटीको कलेक्सन पनि ¥याम्पमा अनुभव गर्न पाइएको थियो ।
कार्यक्रमको विशेष प्रस्तुतिका रुपमा ट्रान्सजेन्डर मोडल भूमिका श्रेष्ठ, अभिनेत्रीद्धय केकी अधिकारी र स्वस्तिमा खड्का तथा गायिका इन्दिरा जोशीले पनि ¥याम्प नापेको यो कार्यक्रममा यी सेलिब्रेटीहरुले जरदोजी बुटिकका अमितेश कर्ण र इन्दु आक्षाजुले तयार पारेका पहिरन शैलीलाई प्रदर्शन गरेका थिए । शो स्टपरकै रुपमा अभिनेत्री सुष्मा अधिकारी, मिस नेपाल कल्चर २०१६ का विजेता उरुषा जोशी, मिस पिंक नेपाल २०१६ विजेता एनी लामा, मोडलद्धय दिपक घिमिरे र भावना गुरुङ तथा भारतीय मोडल तन्जिम आलामले शो स्टपरको भूमिका निर्वाह गरेका थिए ।