काठमाडौं । ताप्लेजुङ चाँगेका कृष्णप्रसाद भट्टराईको १२ केजीको ट्यूमर अप्रेशनका लागि गीतकार भद्रकला आङबुहाङ राई र चाँगेधर्ती आमाकोष संस्थाले सहयोग गरेको छ । भट्टराईको १० वर्षदेखि आएको गालाको ट्यूमर ६० वर्ष पुग्दा १२ केजीको भएको थियो । त्यही ट्यूमरलाई चाँगेधर्ती आमाकोष र गीतकार भद्रकला आङबुहाङको सहयोगमा अप्रेशन गरेको हो । सुषमा कोइराला मेमोरियल अस्पताल साँखुका डा. जस्वन श्रेष्ठको अगुवाईमा अप्रेशन भएको हो । अप्रेशनमा स्वदेशी र विदेशी डक्टर मिलेर करिब ७ घन्टा समय लगाएर १२ केजी ट्यूमर फालिएको थियो ।
भद्रकला आङबुहाङ राई, गीतकार
संगीतकार राजु सिंह, संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष, चाँगेधर्ती आमाकोषका सल्लाहकार खड्गजंग आङबुहाङ, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, संगीतकार सुरेश अधिकारीलगायतका सुषमा कोइराला मेमोरियल अस्पतालका डाक्टरहरुको आतिथ्यतामा भएको कार्यक्रममा ट्यूमर पीडित कृष्णप्रसाद भट्टराईको अप्रेशन कसरी गरियो ? भन्नेबारेमा प्रष्ट पारिएको थियो । भट्टराईको अप्रेशन गर्दाको भिडियो देखाउँदै उनको उपचारमा संलग्न डाक्टरहरुले आफ्नो अनुभव सुनाएका थिए ।
कृष्णप्रसाद भट्टराई
त्यस्तै समाजसेवी एवं गीतकार भद्रकला आङबुहाङ राईले हङकङबाट आफ्नो भिडियो मन्तव्यमा चाँगेधर्तीले पीडित कृष्णप्रसादको उपचारमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै उपस्थित अतिथिहरुलाई हार्दिक आभार प्रकट गरेकी थिइन् ।
सोही कार्यक्रममा समाजसेवी एवं गीतकार भद्रकला आङबुहाङ राईको गीतिसंग्रह अजम्बरीको चारवटा गीतको म्यूजिक भिडियोसमेत प्रदर्शन गरिएको थियो भने म्यूजिक भिडियोमा जोडिएका सहयोगी हातहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो । त्यस्तै चाँगेधर्ती आमाकोषको तर्फबाट पीडित भट्टराईको उपचारमा संलग्न डाक्टरहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रम दिनेश डिसीले संचालन गरेका थिए ।