यसपाली पनि याङ्शिलामा सांगीतिक कार्यक्रम हुँदै
screennepal
प्रकाशित: २०७३, १७ बैशाख शुक्रबार
no img

काठमाडौं । गतवर्ष अविस्मरणीय रुपमा मोरङको याङशिलामा भएको सांगीतिक कार्यक्रम यसपालि पनि हुने भएको छ । गतवर्ष बैशाख १२ गते विनाशकारी भूकम्प गएको बेला याङशिलामा सांगीतिक कार्यक्रम भइरहेको थियो । यही कार्यक्रमलाई निरन्तरता दिँदै यसपाली बैशाख २५ मा हुने भएको छ । याङ्शिला सांस्कृतिक समूह याङ्शिलाले गर्ने यो कार्यक्रमको नाम ‘रिमिक्स धमका–२०७३’ राखिएको छ ।

yangsila
याङशिला मोरङ जिल्लाको पहाडी दुर्गम गाविसको रुपमा हेर्ने गरिएको छ, जहाँ मिडियाको पहुँच निकै कम रहेको छ । पूर्वमा मोरङको केराबारी, पश्चिममा धरान उपमहागरपालिका, उत्तरमा धनकुटा जिल्ला र दक्षिणमा चारकोसे झाडीसँग सिमाना जोडिएको याङ्शिलाले पछिल्लो समयमा भने विकासका कार्यहरुमा केही फड्को मारेको छ ।
विकट गाउँ भएकाले गाउँमा केही काम गरौं भन्ने अभिप्रायले राष्ट्रिय कलाकार तथा गायक गायिकाको जमघट गर्न कार्यक्रम आयोजना गरेको गीतकार राम चेप्चुङ राईले बताए ।
‘याङशिला सांस्कृतिक समूह’ गतबर्ष स्थापना भएको हो । त्यसै बर्षदेखि याङशिलाले मनोरञ्जनात्मक कार्यक्रम गर्दै आइरहेको छ । स्थानीय समाजसेवी राम राई, नरबहादुर लिम्बू, अजय थेगिम, प्रेम महत, उपेन्द्र लुङ्गेली, चलित्र राई, योगेन राई, रमेश कट्टेल, सन्जिव राई, रोशन लिम्बू र हरि चेम्जोङलगायतको सहयोगमा कार्यक्रम
आयोजना गर्न लागिएको समुहका सचिव प्रमिश राई बताउँछन् । गतको बर्ष राजेशपायल राई, बिष्णु चेम्जोङ, जितु नेपाल, बिनोद खम्बूलगायतले प्रस्तुती दिएका थिए । यस वर्ष बिनोद खम्बु, कमल खत्री, कला राई, ताराप्रकाश लिम्बू, मिना राई, पदम राई, राकेश किराँती, सचिन राईलगायतका गायकगायिकाको प्रस्तुती रहने बताइएको छ । साथै हास्यकलाकार मुला साग र जोघेन्धरको जोडीलाई पनि प्रस्तुत गरिने जनाइएको छ । कार्यक्रम याङ्शिला ८ बगैंचा स्कुलको प्रांगणमा हुने गीतकार राम रेप्चुङ राईले जनाए ।

Comments