सैलुङ डाँडामा बादलसँगै उडे सम्पदा र नरेन (एकदर्जन तस्बिरसहित)
screennepal
प्रकाशित: २०७३, १७ बैशाख शुक्रबार
no img

शब्द/तस्बिर : एमपी सुब्बा

काठमाडौं । ‘माथि माथि सैलुङ्गेमा चौरी डुलाउँनेलाई…’ गायिका कुन्ति मोक्तानले कुनैबेला गाएको यो गीत अझैपनि संगीतप्रेमीको मानसपटलमा पक्कै गुञ्जिरहेकै होला । यो गीत सुन्नेवित्तिकै त्यही सैलुङ डाँडाको याद आउँछ, जहाँ चौरीगोठ र गुराँसले रताम्मै ढाकेको हुन्छ । तर, त्यही रमणीय सैलुङ्गे डाँडामा यो साता भने गुञ्जियो, ‘बादलसँगै उडेर आउँला…।’ गीत गुञ्जिरहँदा त्यहाँ न चौरीगोठ देखियो न त गुराँस फूलेकै थियो । बरु गीतको तालमा बादलसँगै उड्ने प्रयत्न गर्दैथिइन्, मोडल सम्पदा बानियाँ । सम्पदालाई साथ दिइरहेका थिए, अभिनेता तथा मोडल नरेन खड्काले ।

_MG_9464
हो, यो साता तीव्र हावाको धुन सुसाइरहने दोलखाको त्यो सैलुङ डाँडामा गायिका अनिला राईको गीत गुञ्जियो । फाट्टफुट्ट चौरी गाई र गोडा चर्ने त्यो डाँडामा अनिलाको ‘बादलसँगै उडेर आउँला…’ बोलको गीत लाउडस्पिकरमा गुञ्जिँदा टाढा–टाढाबाट गाउँलेसमेत झुम्मिन आएका थिए । गीतको ताल र भावमा हराइरहेका सम्पदा र नरेनलाई नजिकबाट नियाल्न आएका उनीहरुले गीत निकै मन पराए । एक गाउँले भन्दैथिए, ‘गीतको बोल नै बादलसँगै उडेर आउँला रहेछ । अनि पो यहाँ सुटिङ गर्न आका रहेछन् । जेहोस् गीत राम्रो रहेछ ।’ यस गीतको शब्दरचना पनि गायिका अनिलकै रहेको छ ।

_MG_9449
‘बादलसँगै उडेर आउँला…’ यो गीत बेलायतमा बस्दै आएकी गायिका अनिलाको ‘स्वरांकन’ एल्बमको हो । यसै गीतको भिडियो छायांकनका लागि फोटो पत्रकार तथा म्युजिक भिडियो निर्देशक नविन गुरुङलगायतको एउटा टिम सैलुङ डाँडा पुगेको थियो । टिममा रहेका सदस्य आ–आफ्नो क्षेत्रमा परिपक्व भएपनि सैलुङ डाँडाचाहिँ सबैको पहिलोपटक थियो । ‘यो मेरो पहिलो सैलुङयात्रा हो’ मोडल सम्पदाले भनिन्, ‘सोचेभन्दा राम्रो रहेछ । म त एक्साइटेड भएँ ।’ त्यस्तै, नरेनले गीतमा मात्र सुन्दै आएको सैलुङ डाँडा पुग्दा एक्साइटेड भएको बताए । ‘मैले यस्तो रमणीय स्थल होला भनेर सोचै थिइँन’ उनले भने, ‘तर, साँच्चीकै सुन्दर स्थान रहेछ यो ठाउँ ।’

_MG_9441
सैलुङ डाँडाको प्रकृति बयान गरेर वास्तवमै साध्य छैन । तर, भिडियो छायांकनका लागि पुगेका टिमलाई मौसमले धोका नराम्ररी धोका दिएको थियो । सधैं वरिपरी विभिन्न हिमालको दृश्य देखिने सैलुङ डाँडा त्यो दिन तुवाँलोले नछोड्न भिडियोका निर्देशक नविन निकै निराश भएका थिए । चारैतिर तुवाँलो छाएका कारण हिमालको दृश्य छायांकन गर्न नसकिएपछि सैलुङकै रमणीय स्थलहरुलाई मात्र क्यामेरामा कैद गरियो । सैलुङको दृश्य कैद गर्ने पनि नविन नै थिए ।

_MG_9413
‘हिमालको दृश्य खिच्न नपाएपनि भिडियो राम्रो बनेको छ’ निर्देशक नविनले भने, ‘हामीलाई चाहिएको बादल र प्रकृति सुन्दरतालाई छायांकन गर्न पाएका छौं ।’ यो गीतको छायांकन भक्तपुरको रोज भिलेजस्थित एउटा घरमा समेत छायांकन गरिएको छ । तीन दिनसम्म छायांकन गरिएको यो गीतको म्युजिक भिडियोबाट गायिका अनिला त आशावादी छन् नै, मोडलद्वय सम्पदा र नरेनले यस भिडियोप्रति धेरै अपेक्षा गरेको बताएका छन् । ‘बादलसँगे उडेर आउँला…’ अनिलाको ‘स्वरांकन’ को तेस्रो भिडियो हो । यसअघि यस एल्बमको दुई भिडियो सार्वजनिक भइसकेका छन् ।

_MG_9403 _MG_9396 _MG_9382 _MG_9358 IMG_9319 IMG_1784 IMG_1780

Comments