राजनले गाए ‘स्वभिमानका स्वरहरु’
screennepal
प्रकाशित: २०७३, ५ बैशाख आईतवार
no img

काठमाडौं । गायक तथा संगीतकार राजन राई पहिचानका गीतसहित श्रोतामाझ आएका छन् । लामो समयदेखि जनवादी गीति सिर्जनामा रमाउँदै आएका राजनले आफ्नो पछिल्लो सिर्जनाहरमा पहिचानका आवाज बुलन्द गर्दै आएका छन् । यसैक्रममा तयार पारेका गीति सिर्जनाहरुलाई उनले ‘स्वाभिमानका स्वरहरु’ नामांकन गरेर ल्याएका छन् ।

New Image
एल्बमको शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा गोपाल किराँती, अशोक राई, आङकाजी शेर्पालगायतका पहिचानवादी नेताहरुले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।
एकताका राजन ‘कान थापेर सुनि देउ’, ‘शिरैमा मेरो’, ‘तारा खस्यौली’जस्ता गीतहरु गाएर जनवादी गायकका रुपमा जनताको मन जित्न सफल भएका थिए । त्यस्तै, अहिले उनी पहिचानवादी गीतहरु लिएर आएका छन्, जसबाट पनि श्रोता तथा दर्शकको मन जित्न सफल हुने उनको अपेक्षा छ ।
एल्बम ‘स्वभिमानका स्वरहरु’ मा ‘मेट्न सक्दैनौ हाम्रो पहिचान’,  ‘अब आगो ओकल्छौ हामी’, ‘आउ न साथी आउ’, ‘देश मेरो नेपाल लिम्बुवान घर मेरो’, ‘जागौ उठौ आदीवासी’ र ‘अलिकति आकाश देउ मलाई’जस्ता गीत छन् । एल्बमको एक गीतमा केडी राई र अर्को एक गीतमा रोशन वान्तवाको संगीत छ भने अन्य गीतमा राजनकै शब्द र संगीत छ ।

राजनका अन्य सांगीतिक कृतिहरुमा ‘जनगीति यात्रा’, ‘सन्देश’, ‘म त फेरि आएँ हजुर’, ‘सेलेक्टेड संग अफ राजन राई’, ‘आशाका किरण’ छन् भने गीति नाटक ‘फुलबारीको कथा हवार्ईको ब्यथा’, फिल्म ‘देउमाईको किनार’, टेलिशृंखला ‘एक रुपैयाँको तमसुक’ आदिमा पनि उनको योगदान छ । यस्तै राजनले फिल्म ‘दृष्टि’, टेलिशृंखला ‘हिपहिप हुर्रे’, ‘द कलेज’, टेलिभिजन कार्यक्रम ‘संगालो’ आदिको निर्माण तथा निर्देशन गरिसकेका छन् ।
गायन राजने गीति एल्बमलाई आदीवासी जनजातीलगायत उत्पीडितहरुको पहिचान र अधिकारलाई सशक्त रुपमा अघि बढाउने उद्देश्यका साथ तयार गरिएको दाबी गरेका छन् । उनले भने, ‘यो एल्बमलाई पहिचानवादी गीतको धारको रुपमा स्थापित गर्दै देश, विदेशसम्म पनि अभियानकै रुपमा लैजाने मेरो योजना छ ।’

Comments