सचिन र वर्षाले जिते ‘तेस्रो गोल्डेन आईडल’ उपाधि (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, २९ चैत्र सोमबार
no img

पोखरा । आफ्ना पाँच प्रतिस्पर्धीलाई पछि पार्दै दाङका सचिन पाखरेलले गायनतर्फ ‘तेस्रो गोल्डेन आईडल’ को उपाधि जितेका छन् । शनिबार अबेर साँझ पोखराको सिटी हलमा सम्पन्न गोल्डेन आईडलको तेस्रो शँृखलामा उनले उपाधिसहित एक लाख रुपैयाँ र आफ्नो स्वरमा गीत रेकर्ड गर्ने अवसर जितेका छन् । राष्ट्र भावनाले ओतप्रोत एउटा गीत र स्टुपिड मनको गीत ‘तिम्रो आँखा…’मा प्रस्तुत गरेर उनले आफ्ना पाँच प्रतिस्पर्धीलाई उछिनेका हुन् ।

Golden Idol, screennepal (2)
गोल्डेन स्टार मल्टिमिडियाद्धारा आयोजित सो प्रतियोगितामा नृत्यतर्फ भने दाङ घोराहीकी १३ वर्र्षीया वर्षा लम्साल बिजेता बन्न सफल भइन् । अन्तिम प्रतिस्पर्धामा उनले छोरी भएर जन्मनुको पीडालाई नृत्यमार्फत प्रस्तुत गर्दा निर्णायक टोलीसहित दर्शकसमेत स्तव्ध भएका थिए । त्यसअघि उनले लोक नृत्यतर्फ दाङकै थारु समुदायको नृत्य प्रस्तुत गरेकी थिइन् । उनले उपाधिसँगै एक लाख रुपैयाँ र ट्रफी हासिल गरिन् ।
गत ५ असोजबाट सुरु भएको यो प्रतियोगितको प्रारम्भिक चरणमा मुलुका ४२ भन्दा बढी जिल्लाका नृत्य र गायनमा चार हजारभन्दा बढी प्रतियोगी सहभागी भएको आयोजक संस्थाकाअध्यक्ष शरन गुरुङले बताए । यो प्रतियोगिताको विभिन्न चरणको छनोटपछि अन्तिम प्रतिस्पर्धामा गायनतर्फ ६ जना र नृत्यतर्फ सातजना चयन भएकाथिए । जसअन्तर्गत गायन अमलेशगञ्जका देबेन्द्र कार्की फस्ट रनरअप भई ५० हजार रुपैयाँ र ट्रफी जित्न सफल भए । यस्तै गायनतर्फ नै बुटबलमा बालप्रतिभा घनश्याम घिमिरे सेकेण्ड रनरअप भई २५ हजार रुपैयाँ र ट्रफी बिजेता बने ।

Golden Idol, screennepal (1)
यस्तै, नृत्यतर्फ चितवनकी मनिषा परियारले फस्ट रनरअपको उपाधिसहित ५० हजार रुपैयाँ र ट्रफी जितिन् । नृत्यतर्फ नै दाङकै पुकारसिंह भण्डारीले सेकेण्ड रनरअपमा चित्त बुझाउनुप¥यो । उनले उपाधिसहित २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।
यो प्रतियोगिताको अन्तिम चरणको निर्णायकमा गायक तिलकबम मल्ल, कोरियोग्राफर शंकर बिसी, कोरियोग्राफर सन्तोष लामा, नृत्य निर्देशक निरुता गुरुङ, गायक टिकाराम गुरुङ र ओमराज पौडेल थिए ।
पोखराको सभागृहमा सम्पन्न सो सांगीतिक कार्यक्रममा गायक डम्बर नेपालीले जब साँझ पर्छ…, अन्तिम पल्ट भेट्न आउ…, तिम्रो पाउजु बजाएर…लगायतका गीत प्रस्तुत गर्दा दर्शकलाई मन्त्र मुग्ध पारे । यस्तै, गायक तिलकबम मल्लले मुटु छुने लुम्लेको हावाले…, पोखराको बजारमा…, हातमा रुमाल…लगायतका गीत प्रस्तुत गरेर दर्शकलाई नचाए । यस्तै स्थानीय गायक सुरज आचार्यले समेत सांगीतिक प्रस्तुति राखेका थिए । कार्यक्रममा मेरो साथी अनलाइन रेडियोको शुभारम्भ गरिएको थियो ।
देशभरका गायन तथा नृत्यका नवप्रतिभाको प्रतिभा प्रस्तुतिका लागि उचित स्थान दिन यो प्रतियोगिता थालेको गोल्डेन आईडल मल्टिमिडियाका अध्यक्ष शरन गुरुङले बताए ।

Comments