नयाँ वर्षको स्वागत गर्दै सविन राई
screennepal
प्रकाशित: २०७२, २२ चैत्र सोमबार
no img

काठमाडौं । थोरै गीत गाएर धेरैको मनमा बस्ने गायकमध्ये पर्छन् गायक सविन राई । सन् २००१मा एउटा एल्बम निकालेर असफलता बेहारेका राईको सन् २००३ मा निस्किएको ‘सतह’ एल्बमले उनलाई यस्तो सफलता दिलायो जुन सफलताले आजसम्म पनि सविन राईलाई संगीत प्रेमी माझ जिवन्त बनाईराखेको छ ।

Sabin_Rai_Femnepal
‘कोमल त्यो तिम्रो वदन’ ‘गुराँशको फेद मुनि’ ‘किन कि म’ ‘नमूना’, ‘म संसार जित्ने आश गर्दैछु,’ जस्ता गीत ‘सतह’ एल्बममै समेटिएका थिए । त्यसयता ति गीतलाई बिर्साउने सविनका गीत आएका छैनन् तर पनि उनलाई सुन्न चाहाने स्रोताको कुनै कमी छैन । स्रोताको यही चासोलाई मध्येनजर गर्दै फेम नेपालले आउँदो नयाँ वर्षको पूर्व सन्ध्यामा सविन र उनको ब्यान्ड इलेक्ट्रिक्सलाई दरबारमार्गस्थित भिक्ट्रिमा प्रत्यक्ष संगीतका लागि प्रस्तुत गर्ने भएको छ ।
केही समययता भिक्ट्रिमा नेपाल गायक गायिकालाई निरन्तर प्रत्यक्ष संगीतमा प्रस्तुत गर्दै आएको फेम नेपालले नयाँ वर्षको छेको पारेर‘नयाँ वर्ष नयाँ सुरुवात’ थिममा सविन राईलाई प्रस्तुत गर्न लागेको हो । फेम नेपालले यसअघि यस्तै प्रत्यक्ष संगीतमा विपुल क्षेत्री र एक्सव्यान्डलाई प्रस्तुत गरिसकेको छ ।
‘दि न्यु इअर इभ विद सविन राई एण्ड इलेक्ट्रिक्स’ नाम दिएको कार्यक्रममा हुर्कदो ब्यान्ड ‘बि एट’ले आफ्ना गीत सुनाउने आयोजक साइमन राईले जानकारी गराएका छन् । साँझ ४ बजेबाट सुरु हुने कार्यक्रममा डिजेको पनि उपस्थिति रहने उनले बताए ।
चैत ३० गते मंगलबारका दिन हुने कार्यक्रममा सविनका गीत सुन्न चाहानेले हजार र पन्ध्र सयको टिकट लिनु पर्नेछ ।

Comments