‘तिर्खा’ ल्याए तर, प्यास मेटिएन मदनको (तिम्रोजस्तो मुटु : भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, १७ चैत्र बुधबार
no img

काठमाडौं । संगीत तिर्खाजस्तै हो, जसरी तिर्खा लाग्दा पानी नखाई प्यास मेटिदैँन । संगीतको प्यास मेटाउनलाई पनि संगीतमा डुब्नैपर्छ । तर, गायक मदनकुमार राईलाई भने गाएर पनि संगीतको तिर्खा मेट्न सकेको छैन । डेढ दशकदेखिको आफ्नो सांगीतिक तिर्खा मेट्न उनले एल्बम ‘तिर्खा’ त ल्याए तर, सोचेजस्तो नभएपछि आफ्नो सांगीतिक प्यास नमेटिएको मदन बताउँछन् । ‘मेरो सानैको संगीतप्रतिको मोह मेटाउन एल्बम ल्याएको हुँ’, केही समयअघि मात्र ‘तिर्खा’ नामक आधुनिक एल्बम ल्याएका मदन भन्छन्, ‘एल्बम त ल्याएँ तर, सोचेजस्तो भएन ।’ गायन क्षेत्रमा ज्ञान नहुँदा खर्च गरेर पनि एल्बम स्तरिय बन्न सकेको उनको दुखेसो छ ।

madan Kumar Rai
हुन त उनी गायनमा नयाँ भएपनि डेढ दशकअघि नै संगीतको प्रशिक्षण गरेका हुन् । उनी सानैदेखि गीतसंगीतप्रति मोहित थिए । त्यही मोह र इच्छा पूरा गर्न संगीत साधना गरेका उनले भने, ‘तर, त्यो समयमा मैले आफ्नो संगीतप्रतिको मोह अर्थात् तिर्खा मेटाउन सकिनँ ।’ कारण उनी संगीत सिक्दासिक्दै विदेसिए । त्यो रहर र इच्छा विदेश हँुदा पनि मनैमा साँच्दै आएका मदनले ‘तिर्खा’मार्फत आफ्नो सांगीतिक प्यास मेटाउँने प्रयास गरेका हुन् । तर, उनी आफ्नो ‘तिर्खा’ एल्बमले प्यास नमेटिएको बताउँछन् ।
मदनको ‘तिर्खा’ मा चार वटा गीत छन् । ती सबै गीतको म्युजिक भिडियोसमेत बनाएका छन् । तर, संगीत र उनको गायनअनुरुप भिडियो नबन्दा उनी दुखित भएका छन् । ‘म्युजिक भिडियो त बनाएँ तर, सोचेजस्तो भएन’ उनले भने, ‘मलाई म्युजिक भिडियोका ज्ञान भएन । त्यसैले खर्च गरेअनुसार बनेन ।’ भिडियो स्तरिय नबनेकै कारण धेरैजसो मिडियाले प्रसारण गर्न मानेनन् । जब मिडियामा भिडियो पुग्यो, त्यसपछि मात्र भिडियो सोचेजस्तो नबनेको थाहा पाएको मदनले बताए । नयाँ म्युजिक भिडियो भएकाले एक दुईपटक टेलिभिजनले प्रसारण गरेपनि काउन्ट–डाउन कार्यक्रमहरुमा ‘तिर्खा’ को भिडियोहरु नबज्दा गायक मदन दुखी छन् । ‘खर्च त गरेकै हुँ’ उनले भने, ‘तर, यहाँ खर्च गरेर मात्र नहुने रहेछ, आफूलाई पनि ज्ञान हुनुपर्ने रहेछ ।’ उनले ‘तिर्खा’ एल्बमबाट धेरै कुरा सिक्ने अवसर पाएका बताए ।
मदनको एल्बम ‘तिर्खा’ मा ‘गाउँकी गोरी…’, ‘यो कान्छीको मुहारै राम्रो…’, ‘ककैलाको पानी हो जीवन…’ र ‘तिम्रो जस्तो दुईटा मुटु…’ बोलका गीत रहेका छन् । एल्बममा ओमप्रकाश राईको एकल संगीत रहेको छ ।
‘तिर्खा’ का गीतहरु टेलिभिजन च्यानलहरुमा सोचेजस्तो नबजेपनि यु–ट्युबमा भने राम्रै गइरहेको छ । केही टेलिभिजनले पनि अहिले पनि प्रसारण गर्दै आएका छन् ।
अबुधावीमा बसेर पनि आफ्नो सांगीतिक चाहना मेटाउँदै आएका मदनले भने, ‘इच्छा पूरा गर्न एल्बम ल्याएको हुँ । जसरी पनि इच्छा पूरा गर्दै गायकका रुपमा चिनिने मेरो लक्ष्य छ । तर, यसपटक सोचेजस्तो भएन । अब अर्को एल्बम भने बुझेरै गर्नेछु ।’ तर, गीत सुन्नेहरुले भने रामै्र भनेका छन् । तिर्खाका गीतहरु जीवन उपयोगी छन् । संगीतमा पनि कुनै खाशै कमि छैन । एल्बम ‘तिर्खा’ मा शेर्बा राईको शब्दरचना रहेको छ । सबै गीतका शब्दरचना जीवनमा भोगिने र देखिने यर्थातताभित्र समेटिएका छन् । विदेशमा बसेर सांगीतिक क्षेत्रलाई रोजेका कारणले होला, तिर्खाका केही गीत विदेशमा बस्ने नेपालीहरुले एकपटक सुन्नैपर्ने खालका छन् ।

Comments