ऋतुराजको ‘रहर’ सिरिज : एकसाथ दुई भिडियो ल्याउँदै
screennepal
प्रकाशित: २०७२, १४ चैत्र आईतवार
no img

काठमाडौं । ‘रिमेम्बर’ नामक पप तथा आधुनिक गीत एल्बम ल्याएपछि औपचारिक रुपमा सांगीतिक यात्रा प्रारम्भ गरेका तेह्रथुमे गायक ऋुतुराज लिम्बू यतिखेर ‘रहर’ ल्याउँने तयारी गर्दैछन् । ‘रिमेम्बर’ बाट गायनमा हौसिएपछि लगातार करिब एक दर्जन एल्बम ल्याइसकेका ऋतुराजको आउन लागेको एल्बम ‘रहर’ को तेस्रो सिरिज हो ।

Ritu raj Limbu
घर तेह्रथुम भएपनि धरानबाट गायन करिअर सुरु गरी संघर्ष गर्दै आएका गायक ऋतुराज ‘रहर’ नामबाट पनि उत्साहित छन् । ‘रहर’ एल्बमले उनका गायन रहरलाई पूरा दिएकाले पनि होला, उनी ‘रहर–४’ पनि ल्याउँने भएका छन् । ‘रहर–३’लगत्तै ‘रहर–४’ ल्याउँने सोचमा छु’ उनले भने, ‘रहर–४ का गीतहरु पनि तयार गर्दैछु ।’
ऋतुराजका ‘रिमेम्बर’का अलावा ‘रिवाइन्ड’, ‘हाई–वे’, ‘किरात चोत्लुङ’ (लिम्बू संस्कृतिमा अधारित), ‘रिलेशन’, ‘यु एण्ड मी’ जस्ता करिब दर्जनको हारहारीमा एल्बम छन् । ‘रहर’ को मात्रै तीन सिरिजसम्म ल्याएका ऋतुराजको ‘वेइत ताङ्वा’जस्ता केही लिम्बू भाषाका एल्बमहरु पनि छन् । पूर्व केन्द्रीत भएर गायन यात्रामा आधा दशकभन्दा बढी समय विताइसकेका ऋतुराज राजधानीमा भने ओझेलमै छन् । ‘मेरा गीतहरु पूर्वमा त हिट छन्’ उनले भने, ‘तर, यहाँ चर्चामा आउन सकेको छैन ।’ उनले अबका दिनमा राजधानी केन्द्रीत गायन संघर्ष गर्ने बताए । हुन पनि गायनको मुलधारमा चर्चामा आउनका लागि राजधानीमा संघर्ष गर्नैपर्छ । यो कुरा अहिले गायक ऋतुराजलाई पनि महशुस भएको छ ।

bashanta
केही सातायता राजधानीमै गायन गतिविधिमा क्रियाशील रहेका ऋतुराजले केही दिनअघि एकैसाथ दुईवटा गीतको भिडियो निर्माण गरेका छन् । उनले आफ्नो एल्बम ‘रिलेशन’ को ‘फेरि आयो नयाँ वर्ष…’ र ‘यु एण्ड मी’ मा संगृहीत ‘मायालुलाई…’ बोलको गीतलाई म्युजिक भिडियो निर्माण गरेका हुन् । ती दुईवटै भिडियोको निर्देशन रोज सुब्बाले गरेका हुन् भने ती म्युजिक भिडियोमा वसन्त लिम्बू र केन्डी सदेम्बाले अभिनय गरेका छन् । ती गीतकधो भिडियो केही दिनमै यु–ट्युबमा रिलिज गर्ने ऋतुराजले बताए ।

Comments