‘चासोक तङ्नाम’ फ्युजनमा कञ्चन–रेखाको केमेस्ट्री (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, ७ चैत्र आईतवार
no img

काठमाडौं । गायनकै कुरा गर्दा पुर्वमा चर्चित छन् कञ्चन थलङ । जब प्रथम लिम्बूवान सिंगिङ आइडल बने, तब उनी नेपाली गायन क्षेत्रमा छाएका हुन् । यिनै पुर्वेली आइडल कञ्चन अहिले चासोक तङ्नामको गीत लिएर दर्शक÷श्रोतामाझ आएका छन् । पूर्वी नेपालमा आयोजित गायन रियालिटी शो ‘लिम्बूवान सिंगिङ आइडल’ को उपाधि जितेपछि गायनमा सक्रिय भएका कञ्चनले ‘चासोक तङ्नाम’ बोलको आफ्नो गीतलाई म्युजिक भिडियोमा ल्याएका हुन् ।

chasok
लिम्बू संस्कार तथा संस्कृतिसँग जोडिएको ‘चासोक तङ्नाम’ लाई कञ्चनले लोकपप फ्युजनमा गाएका छन् । उक्त गीतबारे स्पष्ट पार्दै उनले भने, ‘यो गीत अहिलेको युवापुस्ता सुहाउँदो गरी फ्युजन गरेको हुँ ।’ यस गीतलाई श्रोता/दर्शकले रुचाएका पनि छन् । यो गीत गायक कञ्चनको दोस्रो एल्बम ‘याद’ मा समावेश छ । यसअघि उनले ‘हाम्रो यात्रा’ नामक एल्बम ल्याएका थिए ।
हुन त ‘लिम्बूवान सिंगिङ आइडल’ उपाधि जित्नअघि पनि उनी गायनमै थिए । ०६४ सालमा आफ्नै शब्द तथा संगीतमा ‘आशा तिम्रो’ बोलको गीत रेकर्ड गराएर कञ्चनले गायन यात्रा प्रारम्भ गरेका हुन् । उनको पहिलो गीत पनि श्रोताले निकै रुचाएका थिए । अहिलेसम्म दुई दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेको बञ्चनले बताए । आफ्नोलगायत अरुका कलेक्शन एल्बमहरुमा समेत गाउँदै आएका कञ्चनले मोडलिङ पनि गर्दै आएका छन् । ‘चासोक तङ्नाम’ गीतमा पनि उनैले मोडलिङ गरेका छन् । यस गीतमा कञ्चनसँग रेखा फागोले मोडलिङ गरेकी छन् । रेखा पछिल्लो समय पुर्वमा उदाउँदो मोडलका रुपमा चिनिन्छिन् । कृष्ण थाम्देनको शब्दरचना रहेको यस गीतमा संगीत विनोद खम्बु, छायांकन भुपेन्द्र तुम्बाहाम्फे र सम्पादन निशान घिमिरेको रहेको छ ।
यसरी गायन र मोडलिङमा जम्दै आएका कञ्चनले पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा पनि हात होलेका छन् । ‘चासोक तङ्नाम’ गीतको भिडियो निर्देशन उनैले गरेका हुन् । यसबाहेक अरुका केही गीतको पनि भिडियो निर्देशन गर्नुका साथै मोडलिङ गरेको कञ्चनले सुनाए । तर, उनलाई म्युजिक भिडियो निर्देशनमै जम्ने इच्छा भने छैन । उनी भन्छन्, ‘निर्देशनमा भन्दा मोडलिङमा चाहिँ रमाउँने इच्छा छ । साथीभाईले पनि मोडलिङ गर्दा राम्रो हुन्छ भनेर हौसाइरहेका छन् ।’ पुर्वको धरानमा छायांकन गरिएको कञ्चनको यो पछिल्लो गीत ‘चासोक तङ्नाम’ को म्युजिक भिडियो यहाँ प्रस्तुत गरिएको छ । भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

Comments