तिमीले दिएको एक चिम्टी सिन्दूर लाउनलाई भुल्दिनँ
सोहै्र शृँगार जे लाएपनि, त्योविना खुल्दिनँ ।
यस मिठास शब्दमा गायिका अनिला राईले आफ्नो माधुर्य स्वर दिएकी छन् । नारीको अस्मितासँग जोडिने सिन्दूरबारे गाइएको यो गीत सुनेर एकपटक महिलाले पक्कै सोच्नेछन् । हेमकुमार राईको यस शब्दलाई डक्टर किराँतले लयमा ढालेका हुन् । यो उनको सातौं ‘स्वरांकन’ एल्बमको हो । यस एल्बमको ‘मेरो नजर भन्दा पर नजानु है सानु’ र ‘आँखाभरी इन्द्रेणीको…’ गीतको भिडियोले चर्चा पाइरहेकै बेला अनिलाले ‘तिमी दिएको एक चिम्टी सिन्दुर…’ लाई यु–ट्युबमा सार्वजनिक गरेकी हुन् । पतिप्रति आत्मीयता र विश्वास जगाउने शब्दभाव समेटेको यो गीत विशेषगरी महिला वर्गले रुचाएका छन् । एक दशकदेखि बेलायतमा बस्दै आएपनि नेपाली गीतसंगीतलाई माया गर्दै आएकी अनिला भन्छिन्, ‘मेरो जीवनको उद्देश्य र लक्ष्य भनेकै कुसल गायिका बन्नु हो ।’
पाँच लोक गीति र दुई आधाुनिक एल्बम श्रोतालाई पस्किसक्दा पनि अनिलाले आफूलाई सिकारु र संघर्षरत गायिकाका रुपमा चिनाउँछिन् । एक समय उनको पूर्वेली लोक गीत ‘यो मनको रहर…’ एकदमै लोकप्रिय भएको थियो । तर, त्यसैबेला पारिवारिक कारणले बेलायत गएकी अनिलाले करिब तीन वर्षअघि ‘द लाईफ’ नामक आधुनिक एल्बम ल्याएकी थिइन् । उक्त एल्बमको ‘तिमी बाहेक…’ बोलको गीत श्रोताको ढुकढुकी बनेको थियो । र, अहिले पनि उक्त गीत रेडियो तथा एफएमहरुमा गुञ्जिने गरेको छ । तैपनि उनी ‘द लाइफ’ एल्बमबाट सन्तुष्टि छैनन् । उनी भन्छिन्, ‘द लाइफको गीत राम्रो थियो, तर प्रमोसन हुनै सकेन ।’ उनले ‘स्वरांकन’ करिब ६ वर्षको अन्तरालमा ल्याएकी हुन् ।
आफ्नो सांगीतिक यात्रा लामो समय ब्रेक भएकै कारण उनले ‘स्वरांकन’ मा १४ वटा गीत राखेर धित् मारेकी छन् । एल्बमका ती गीतमध्ये ‘तिमीले दिएको एक चिम्टी सिन्दूर…’ पनि हो । यहाँ यसै गीतको लिप्सिङ भिडियो प्रस्तुत गरिएको छ ।