संगीतको ‘किनारा’ मा झुल्किन् राधिका
screennepal
प्रकाशित: २०७२, २९ फाल्गुन शनिबार
no img

काठमाडौं । पत्रकार राधिका अधिकारीको परिचय बदलिएको छ । उनी अब पत्रकारमात्र नभएर गीतकार पनि भएकी छन् । गीतकार अधिकारीले आफ्नो पहिलो एल्बम ‘किनारा’ ल्याएकी छन् । अधिकारीको ‘किनारा’ लाई गीतकार डा.कृष्णहरि बराल, डा.नवराज लम्साल, संगीतकार राजु सिंह, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, निर्देशक समाजका उपाध्यक्ष सुमन दाहाललगायतले सार्वजनिक गरेका थिए ।

Radhika

पत्रकार राधिका अधिकारी

गीतकार अधिकारीको ‘किनारा’ को समीक्षा गर्दै संगीतकार राजु सिंहले एउटा राम्रो कृति बन्न सफल भएको बताए । उनले संगीतको पक्ष केलाउँदै सबैले सहज रुपमा ग्रहण गर्न सक्ने संगीत सिर्जना भएको बताएका थिए ।
गीतकार डा. बरालले राधिका अधिकारीको गीतका पंक्तीहरु केलाउँदै राम्रो लेखन क्षमता भएको गीतकार भएको बताए । बरालले गीतसंगीतका विविध पाटाहरुका कुराहरु गर्दै राधिकाको गीतले पक्कै पनि कुनैबेला कसैसँगको प्रसंगलाई प्रष्ट पारेको बताएका थिए ।
कार्यक्रममा अधिकारीले आफ्ना बुबाकै कविता चोरेर साहित्यमा लागेकी बताइन् । उनले कविता र गजललाई रेडियो नेपालमा पठाउनकै लागि बुबाको खल्ती टकटक्याएको सुनाइन् । साहित्यमा गीत, कविता गजल लेख्दालेख्दै एल्बम निकाल्न प्रेरणा मिलेको बताउँदै अधिकारीले आफूलाई सहयोग गर्ने सबैलाई आभार प्रकट गरेकी थिइन् ।
उनको एल्बममा पाँचवटा गीत समावेश गरिएको छ, जसमा जति छाल आए पनि, जिन्दगीले आफैंलाई, पुग्नु त मैले, आउँ तिमी अँगालोमा जस्ता गीत समावेश गरिएको छ । जसमा सन्तोष श्रेष्ठ, सागर अधिकारी, सुरेश अधिकारी र बुद्ध सायमीले संगीत दिएका छन् भने काव्य आचार्य, राज सिग्देल, अन्जु पन्त, सागर अधिकारी, संगीता तिमिल्सिना बास्तोला र एन्जिला रेग्मीले स्वर दिएका छन् ।

Comments