काठमाडौं । नेपाल होचा पुड्का संघका संस्थापक अध्यक्ष तथा कलाकार लोकनाथ ढकालको उपचार सहयोगार्थ राजधानीमा सांस्कृतिक कार्यक्रम गरिएको छ । क्रियाशील होचा पुड्का महिलासंघ र बिबी टुस सामाजिक सञ्जालको संयुक्त आयोजनामा ‘लोक मञ्जरी विविध सांस्कृतिक कार्यक्रम’ गरिएको हो । कार्यक्रममो उद्देश्य केही समययता अस्वस्थ्य रहेका कलाकार ढकालको सहयोगार्थ रहेको क्रियाशील होचा पुड्का महिला संघकी अध्यक्ष सुन्दरी मिश्रले बताइन् ।
उद्योग राज्यमन्त्री मेघराज नेपालीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विभिन्न उच्च पदाधिकारीहरुको पनि सहभागिता थियो । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री नेपाली होचा पुड्का संघलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘मन्त्री पदमा भएको बेला मात्र भनेको होइन, म जहाँ र जुन ठाउँमा रहेपनि यो संघलाई मेरो साथ र सहयोग रहने छ ।’ उनले साँचो कुरा बताए आफ्नो मन्त्री पदसमेत धरापमा पर्ने बताउँदै भने, ‘संसदमा होचा पुड्काको पनि प्रतिनिधित्व हुनपर्छ भनेर मैले बारम्बार आवाज उठाउँदै आएको छु ।’
मन्त्री मेघराजले अधिकारी मागेर होइन, खोसेर लिनपर्ने समेत होचा पुड्का कलाकारलाई उक्साए ।
कार्यक्रममा लोचन भट्टराई, भूमिका शाह, नविन पौडेल, मेघराज काफ्ले, समीक्षा घताने, समला राई, निलम ढुंगाना, निर्मला केसीलगायतका कलाकारले आफ्नो प्रस्तुती दिएका थिए । कार्यक्रममा नेपाल होचा पुड्का संघ र क्रियाशील होचा पुड्का महिला संघलाई विविध खाले सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।