अम्बिकाको गीतमा ‘भाव सागर’
screennepal
प्रकाशित: २०७२, २५ फाल्गुन मंगलवार
no img

काठमाडौं । गीतकार अम्बिका गुरुङ आधुनिक गीति एल्बम ‘भाव सागर’ लिएर श्रोतादर्शकमाझ आएकी छन् । एल्बमको शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच उपकुलपति डा. गणेश गुरुङ र बरिष्ठ संगीतकार प्रकाश गुरुङले संयुक्त रुपमा विमोचन गरे । अम्बिकाको एकल शब्द एवं प्रकाश लेप्चाको एकल संगीत रहेको एल्बमलाई एक्सन इन्टरटेनमेन्टले बजारमा ल्याएको हो । विमोचित एल्बममा रामकृष्ण ढकाल, अन्जु पन्त, रिमा गुरुङ होडा, जुना प्रसाई र रजिना रिदम राईको स्वर समेटिएको छ ।

IMG_8866
विमोचन समारोहमा बोल्दै प्रमुख अतिथी डा. गणेश गुरुङले एल्बममा समेटिएका गीत श्रोताको मन छुने शैलीको भएको बताए । ‘गीतको भाव मिठो छ । गीतकार सहृदयी, सहयोगी र भावनात्मक भएकाले उहाँको त्यो छवी गीतमा पनि झल्किएको छ’, डा गुरुङले भने । त्यसैगरी वरिष्ठ संगीतकार प्रकाश गुरुङले सुगम संगीतमा भाव सागर शक्तिशाली एल्बम भएको बताए । ‘एल्बमका गीत सुन्दा ३०, ४० को दशकको याद आयो । गीत सारै मिठो लाग्यो’, उनले भने । विमोचित एल्बमका बारेमा संगीतकार एवं प्राज्ञ शान्तिराम राईले समिक्षात्मक मन्तव्य राखेका थिए । एल्बममा समेटिएका गीतको प्रशंसा गर्दै उनले गीतले आफुलाई नोस्टाल्जिक बनाएको बताए ।
कार्यक्रममा गायिका रजनी रिदम राईले ‘थाहा त थियो’ बोलको गीत गाएर सुनाएकी थिइन भने रामकृष्ण ढकालले गाएको ‘कहाँबाट सुरु’ बोलको म्युजिक भिडियो पनि देखाइएको थियो । अनिशा के क्षेत्रीको निर्देशनमा अमेरिकामा छायांकन गरिएको भिडियोमा सविन र सुनिक्षाले मोडलिङ गरेका छन । गीतकार अम्विका अमेरिका बस्दै आएकी छन । एल्बम विमोचनमा उनले पठाएको लिखित मन्तव्य उनकी छोरी गीता गुरुङले वाचन गरेर सुनाएकी थिइन ।

Comments