काठमाडौं । पर्यटकीय क्षेत्र बन्दीपुरमा पर्यटन बढाउनसँगै त्यहाँको कला र संस्कृतिको प्रचारप्रसार गर्नका लागि गीतकार बन्दीपुरे ठागु अमिर गुरुङले ‘बन्दीपुर जाऊँ’ बोलको गीतको भिडियो तयार पारेका छन् । उनकै शब्द र संगीतमा तयार भएको गीतमा रामचन्द्र काफ्ले र जुनु रिजालले स्वर दिएका छन् ।
बन्दीपुरको सिद्ध गुफा, रानी वन, बन्दीपुर गढी, खड्ग माई, थानी माई, टुँडिखेल, मस्र्याङ्दी नदीलगायतका स्थानमा छायांकन गरिएको भिडियोमा रेशम गुरुङ, जेनी शेर्पा, माया गुरुङ र अमिरले फिचरिङ गरेका छन् ।
भिडियोमा सुमन तण्डुकारको छायांकन, बालकाशी गुरुङको सम्पादन छ । भिडियोको निर्माण मुनाल फिल्मस्ले गरेको हो ।
गीतकार गुरुङले बन्दीपुरको पर्यटनलाई लक्षित गरेर आफुले बनाएको गीत र भिडियो सम्भवत पहिलो भएको दाबी गरे । ‘पहिला मैले डुम्रे माथि थिङ गाउँ बोलको गीत बनाएको थिएँ, त्यसपछि मात्र अहिले बन्दीपुरलाई प्रबद्र्धन गर्न बन्दीपुर गाउँ बनाएको हुँ,’उनले भने,‘१० वर्ष यता बन्दीपुरको पर्यटनले निकै कायापलट फेरेको छ ।’
१५ वर्षदेखि गीत लेखनमा सक्रिय अमिरले हालसम्म दर्जन बढी गीत लेखिसकेका छन् । उनले लेखेको ‘आत्मा भित्र राखी बुद्धलाई’ बोलको गीत निकै चर्चित गीत हो । यसमा खड्ग गरबुजाको स्वर छ भने संगीत अमिरकै छ । उनले ‘बन्दीपुरको कोसेली’ र ‘माया लाग्छ चिनजान भएपछि’ नामक एल्बम नै निकालिसकेका छन् ।