१७औं इमेज अवार्ड : रसिकलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’
screennepal
प्रकाशित: २०७२, २ फाल्गुन आईतवार
no img

काठमाडौं । ‘१७औं इमेज अवार्ड’ मा गायक स्वरुपराज आचार्य ‘उत्कृष्ठ गायक’ ठहरिएका छन् । उनले आफ्नो पछिल्लो एल्बम ‘मनमोहिनी’को शीर्ष गीतबाट यो अवार्ड पाएका हुन् । साथै सो गीतका गीतकार उत्तम भौकाजीले पनि अवार्ड पाए । ‘मनमोहिनी’ मा गायक स्वरूपराजकै संगीत छ । शनिबार आर्मी अफियर्स क्लवमा आयोजित समारोहमा गायिका निखिता थापाले ‘उत्कृष्ट गायिका’को अवार्ड पाइन् । उनले आफ्नो गीते ‘सधंै सुन्न पाऊँ’ले अवार्ड दिलाएको हो ।

Image-award234 (1)
निखिताले समूह गायनमा समेत उत्कृष्ट हुँदै ‘तिम्रै आँखाको गीत’ बाटै गायक सुरजकुमार थापासँग अवार्ड बाँडिन् । २३ विधामा वितरण गरिएको अवार्डमा वरिष्ठ गीतकार, गायक तथा संगीतकार गणेश रसिकलाई एक लाख नगदसहित ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’द्वारा सम्मानित गरिएको छ ।

Image-award33
त्यसैगरी, अवार्डमा फिल्म ‘रेशम फिलिली’ को ‘जालमा’ गीतले ३५ प्रतिशत मत पाएर यस वर्षको सर्वाधिक लोकप्रिय गीतको अवार्ड जित्न सफल भएको छ । कालीप्रसाद बाँस्कोटाले आफ्नै संगीतमा सोमिया बराइलीसँगै गाएको हो यो गीत । यता पप गायनतर्फ भने अमीर शेख र गायिका मिलन अमात्यले बाजी मारे । त्यस्तै, म्युजिक भिडियोतर्फ गायिका इन्दिरा जोशीको ‘आशा अझै मरेको छैन…’ गीतले अवार्ड जितेको छ भने उत्कृष्ट म्युजिक भिडियो निर्देशक स्वर्गीय आलोक नेम्बाङका नाममा गयो ।
यस्तैगरी लोकदोहोरीतर्फ शकुन्तला थापाको गीत ‘रातो पछ्यौरी…’ ले उत्कृष्ट लोकदोहोरी गीत जित्यो भने ‘के लैजानु छ र मरेर…’ बाट राजन ठकुरी उत्कृष्ट घोषित भएका छन भने दोहोरीमा विरही कार्की र सरिता कार्कीको ‘तिम्रै मात्र जुनकिरी…’ गीत उत्कृष्ट ठहरियो ।

Image-award4445

उत्कृष्ट लोकगीत गायनमा राजु परियारको ‘आमा तिम्रो दूधको धारा…’ ले अवार्ड जित्यो । नवप्रतिभा विधाको अवार्ड योगेन्द्र उपाध्यायले उचाले । उनले ‘भीडमा मान्छेहरूको भीडमा…’ गीतका लागि उक्त अवार्ड थापे । गीत मुद्रण अवार्ड ‘किन लायौ माया…’ का लागि किशोर थापाले अवार्ड जित्दा संगीत संयोजनको अवार्ड फणिन्द्र राईले ‘यता गल्ली उता गल्ली…’ बाट प्रतिस्पर्धीलाई उछिने ।
संगीतकारको अवार्ड भने हरि लम्सालले ‘सधैं सुन्न पाऊँ’ बाट जिते । राष्ट्रिय भावनाले ओतप्रोत गीतको खण्डमा भने ‘उठौं उठौं देश निर्माणमा…’ गीतले अवार्ड पायो । शब्द रचनातर्फको अवार्ड राजाबाबु श्रेष्ठको गीत ‘सोचेजस्तो भए जीवन…’ उत्कृष्ट भयो । एरेन्जरमा फणिन्द्र राई उत्कृष्ट ठहरिए ।

इमेज अवार्ड आयोजक इमेज च्यानलका अध्यक्ष तथा प्रबन्ध निर्देशक आर.के मानन्धरले नेपाली सांगीतिक क्षेत्रमा योगदान पु¥याउने स्रष्टा र सिर्जनाहरुलाई भविष्यमा पनि निरन्तर सम्मान गर्दै जाने बताए । उनले १७औं संस्करणसम्म आइपुग्दा कलाकार, श्रोता तथा दर्शकबाट माया पाइरहेको बताए ।

Comments