सुनसरी (इटहरी) । चर्चित हेयर स्टाइलिष्ट नील डेभिड कटुवालले आफ्नो सलुनको सातौं शाखा सुनसरीको इटहरीस्थित इटहरी मलमा सञ्चालनमा ल्याएका छन् । ‘नील डेभिड्स युनिसेक्स सलुन’ को शुक्रबार इटहरी मलमा आयोजित एक समारोहबिच अभिनेता सरोज खनाल र अभिनेत्री गौरी मल्लले शुभारम्भ गरेका थिए ।
सलुनको शुभारम्भ गरेपश्चात अभिनेता खनालले नीलको हेयर स्टाइल कलाबाट आफू आकृष्ट भएको बताउँदै नेपालको हेयर फेशन क्षेत्रमा पु-याएको योगदानको चर्चा गरेका थिए । सो अवसरमा अभिनेत्री गौरी मल्लले सानो आकारमा शुरु गरेको निलको सलुनले सयौंलाई रोजगारी दिलाउँदै सातौं शाखासम्म विस्तार गर्नु उपलब्धीमुलक भएको बताइन् । हेयर स्टालिष्ट डेभिडले भने आफ्नो छोराछोरीलाई डक्टर इञ्जिनियर नै बनाउनुपर्छ भन्ने मानसिकताविपरित आप्ना आमा र स्व. बाबुले स्वतन्त्रतापूर्वक निर्णय गर्ने अधिकार दिलाएकाले आफूले नेपालमा यो कलालाई भित्र्याउन तथा पुरुषले पनि विदेशमा जस्तै नेपालमा महिला र पुरुषको हेयर स्टाइल बनाउन सक्छन् भन्ने लागेर यो पेशा अंगालेको बताए ।
‘सञ्चार माध्यम, सेलिब्रेटी तथा फेशनप्रेमीको माया र सद्भाव तथा हेयर स्टायलप्रेमीको साथका कारण आज यहाँसम्म पुगेको छु’ नीलले भने, ‘आगामी दिनमा यस्तै साथ, समर्थन सद्भाव र सहयोगले हेयर स्टाइलिङबाट नेपाललाई चिनाउने सक्षम हुनेछु ।’
त्यसैगरी नेपाल उद्योग बाणिज्य संघ इटहरीका महासचिव दिवस पोखरेलले इटहरीमा निलको अत्याधुनिक सुलन सञ्चालनमा आउनु सो क्षेत्रकै लागि गर्वको विषय भएको बताए भने होटल व्यवसायी संघ इहटहरीका केन्द्रिय सदस्य रविन गौतमले अब इटहरीमा विदेशी आउँदा इटहरीमा स्टाइलिष्ट सलुन छैन भन्ने प्रश्न गर्दा निलको सलुन देखाउन सजिलो भएको बताए।
कार्यक्रमका अभिनेता खनाल र अभिनेत्री मल्लले थोरैलाई थाहा भएको आफ्नो अतिरिक्त प्रतिभासमेत प्रस्तुत गरेका थिए। अभिनेता खनालले आफुद्धारा रचित कविता सुनाएका थिए भने अभिनेत्री मल्लले आफुद्धारा रचित गीत गाएरै सुनाएकी थिइन् । इटहरीकी सञ्चारकर्मी तथा गायिका चन्दा खड्काद्धारा सञ्चालित कार्यक्रममा गायक दीपक बराइलीले गीत सुनाएका थिए।
यो सलुनमा पनि अघिल्ला शाखामा जस्तै महिला तथा पुरुषको अनुहार तथा रुप रंग सुहाउँदो तवरले केश सजावट (हेयर स्टाइल) का साथमा स्ट्रेट, फेशियल, मेकअप, नेल आर्ट, मेहेन्दी, होम ब्राडियल मेकअप, कपालको सौन्दर्यसम्बन्धि विभिन्न सेवा तथा प्रशिक्षण उपलब्ध छ । यो सलुनमा उनको अघिल्ला सलुनमा जस्तै वातानुकुलित शान्त, सौम्य र वातावरणका बिच कपालको सौन्दर्यसँग सम्बन्धित सेवाहरु उपलब्ध छ । सबै सेवा अत्याधुनिक प्रविधीका साथ उपलब्ध गराइएको निलले जानकारी गराएका छन् ।
झापा लक्ष्मीपुर कन्काई नगरपालिकाका निलले विश्वका धेरै देशबाट हेयर स्टाइलिङ र फेशन डिजाइनिङ कोर्ष पूरा गरी स्वदेश फर्केर हेयर स्टाइलको क्षेत्रमा क्रान्ति ल्याएका छन्। १५ वर्षअगाडि सन् २००१ मा सिंगापुर घुम्न जाँदा पुरुषले महिला र महिलाले पुरुषको हेयर स्टायल बनाएको देखेर आफ्नो देशमा पनि जमानाअनुसार यो सुविधा किन नगर्ने भन्ने सोचबाट प्रोत्साहित भएका निलले यसबारे औपचारिक कोर्ष पूरा गरी अत्याधुनिक सुविधासहितको सलुन सञ्चालनमा ल्याएपछि त्यसलाई पछ्याउँदै विभिन्न स्थानमा स्तरिय सलुन स्थापनाको श्रेय पाएका छन्। हेयर स्टाइलकै कोर्ष पूरा गरी यो पेशालाई अगाडि बढाएर क्रान्ति ल्याउने पहिलो नेपाली हेयर स्टाइलिष्ट मानिएका उनले विभिन्न सेलिब्रेटीलाई हेयर स्टाइल परिवर्तन गरी नयाँ रुप दिएका छन्।
सन् १९९९मा भारतको दिल्लीस्थित दिल्ली इन्टरनेशन इन्ष्टिच्युट अफ फेशन टेक्नोलोजीबाट फेशन डिजाइनिङ कोर्ष लिएका उनले सिंगापुर घुम्न जाँदा नारी पुरुष समान भन्ने मान्यताअनुसार महिलाले पुरुष र पुरुषले महिलाको कपाल सजावट गरेको देखेपछि फेशन डिजाइनर बन्ने योजनलाई पर सारी दिल्ली पुगेर हेयर स्टाइल कोर्ष गरेका थिए भने थाइल्याण्डको फुकेट कसमोबाट हेयर ड्रेसिङ र स्टायल कोर्ष गरेका थिए।
हेयर स्टायलमै करियर बनाउने उद्येश्यले निलले बेलायतका विश्वप्रसिद्ध हेयर स्टाइलिष्ट टोनी एण्ड गाइजबाट क्रियट्रिभ हेयर स्टाइलिङ एण्ड कलर कोर्षसमेत गरेका थिए भने ओष्कार अवार्ड विजेता हलिउड हेयर एण्ड मेकअप आर्टिष्ट विजेता क्रिष्टिना बुलेण्डाबाट हेयर एण्ड मेकअपको कडा र लाभदायी कोर्ष पूरा गरेका थिए।
नेपालको पहिलो अन्तराष्ट्रिय मान्यताप्राप्त हेयर स्टाइलिष्ट निलले २००८ मा आँखामा पट्टी बाँधेर २५ मिनेटमा ५ विभिन्न हेयर कट गरी किर्तीमानसमेत कायम गरेका थिए।
सम्बन्धित विषयमा विभिन्न कोर्ष गरेपछि निलले पहिलोपल्ट सन् २००६ मा सुन्धराको काठमाडौं मलमा निल डेभिड्स हेयर एण्ड व्युटि सलुन सञ्चालनमा ल्याएका थिए। त्यसपश्चात काठमाडौमा ४, विराटनगरमा १, झापामा १ गरी ६ सलुन तथा हेयर स्टाइलसम्बन्धि प्रशिक्षण दिने ३ एकेडेमी ल्याईसकेका छन्।
नेपालका शहरमा उनको हेयर स्टायलको चर्चा भएपछि भारतिय शहरमा समेत माग भएका कारण उनले भारतमा समेत ५ सलुन र १ एकेडेमी १ सञ्चालन गरिरहेका छन्। नेपाल र भारतमा रहेका उनको हेयर एकेडेमीबाट प्रशिक्षीत हेयर स्टायलका विद्यार्थीहरुले नेपालका विभिन्न स्थानका साथमा भारत, लण्डन, अमेरिका, कतार, युएई, अष्ट्रेलियाका शहरहरुमा हेयर स्टायलसम्बन्धि सेवा दिइरहेका छन् ।