यसरी बित्यो संगीतमै मेनुकाको डेढ दशक (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, २२ माघ शुक्रबार
no img

काठमाडौं । अहिलेकी व्यस्त गायिका हुन् मेनुका तामाङ राई । नेपाली गीतसंगीत क्षेत्रमै डेढ दशक बिताइसकेकी मेनुकाको व्यस्तता हिजोआज स्टेज कार्यक्रम र कलेक्शन एल्बममा बढेको छ । यसका साथै उनी आफ्नो नयाँ एल्बमको तयारी पनि गर्दैछिन् । ‘१, २, ३’ नामक गीति एल्बम ल्याएपछि उनी सांगीतिक क्षेत्रमा व्यस्त हुन थालेका हुन् । करिब दुई वर्षअघि श्रोतामाझ आएको उक्त एल्बम मेनुका दोस्रो हो । तर, मेनुकाको सो एल्बमले नै भाग्य चम्कियो भन्दा फरक नपर्ला । मेनुका भन्छिन्, ‘दोस्रो एल्बम ल्याएयता सांगीतिक क्षेत्रमै व्यस्त छु ।’ उनले त्यसअघि पहिलो एल्बमका रुपमा ०६४ सालमै ‘माया आरिसे’ नामक लोक आधुनिक गीति एल्बम श्रोतालाई पस्केकी थिइन् । उक्त एल्बमका गीतहरु पनि श्रोताले निकै रुचाएको मेनुकाले बताइन् ।

menuka
खोटाङमा जन्मे–हुर्केकी मेनुकाको सांगीतिक यात्रा भने २०५६ सालबाटै हो । ०५६ सालमा ‘मौरी घुम्छ फुलको बोटैमा’ बोलको गीतबाट सांगीतिक करिअर प्रारम्भ गरेकी मेनुकाको ‘मेरो जिन्दगीमा…’ बोलको गीतले पनि निकै चर्चामा पाएको थियो । ‘जुनतारा’ नामक कलेक्सन एल्बममा समावेश उक्त गीत अहिले पनि धेरै श्रोताको ओठमा झुण्एिको पाइन्छ ।

menuka
हाल कलेक्शन एल्बमसँगै विभिन्न स्टेज कार्यक्रमहरुमा व्यस्त रहँदै आएकी मेनुकाले भनिन्, ‘मलाई माया आरिसे एल्बमको गीतले श्रोतामाझ राम्रै चिनियो । अहिले पनि कतिपय कन्सर्टमा मलाई माया आरिसे गायिका भनेर चिन्ने गरेका छन् ।’ मेनुकाले १० गीत समेटेर ‘माया आरिसे’ एल्बम ल्याएकी थिइन् । एल्बममा संगृहीत गीतहरु प्राय श्रोताले रुचाएको मेनुकाले बताइन् । ‘गीत त राम्रै भएको थियो’ उनले भनिन्, ‘त्यसैअनुरुप श्रोताले रुचाएका पनि थिए । तर, एल्बमको त्यो बेला सोचेजस्तो प्रमोसन हुन सकेन ।’
त्यस्तै, उनले आफ्नो दोस्रो ‘१, २, ३’ मा ८ गीत समावेश गरेकी छन् । डेढ दशकको सांगीतिक यात्रामा मेनुकाले अहिलेसम्म २ सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । पछिल्लो समय देश–विदेशको कार्यक्रममा ब्यस्त रहेकी गायिका मेनुकाले हिजोआज तेस्रो एल्बमको तयारीमा गदैीछन् । ‘चाँडै तेस्रो एल्बम ल्याउँने छु’ स्क्रीन नेपालसँग मेनुकाले भनिन्, ‘कार्यक्रमहरुमा व्यस्त भएकाले एल्बम ल्याउन ढिलो भएको हो ।’

Comments