कलाकार राष्ट्रका अमूल्य निधि : राष्ट्रपति भण्डारी
screennepal
प्रकाशित: २०७२, १७ माघ आईतवार
no img

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘नातिकाजी सम्मान तथा पुरस्कार’ प्रदान गरिएको छ । स्व. संगीतकार नातिकाजी श्रेष्ठको ९१औँ वार्षिक स्मृति दिवसको सन्दर्भमा नातिकाजी स्मृति समाजद्वारा आइतबार राजधानीमा आयोजित कार्यक्रमबीच पुरस्कार तथा सम्मान प्रदान गरिएको हो । राष्ट्रपति भण्डारीबाट स्व. नातिकाजीद्वारा संगीतबद्ध देशभक्ति गीतहरुको सी.डी. समेत विमोचन गरिएको थियो । राष्ट्रपति भण्डारीले कलाकार राष्ट्रका अमूल्य निधि र सम्पत्ति भएकाले नातिकाजीलगायत कलाकारको सम्मान हुनेपर्ने बताइन् । राष्ट्रपति भण्डारीले भनिन्, ‘नेपाली गीत, संगीत क्षेत्रका स्रष्टाहरुको सम्मान गरेर नातिकाजी स्मृति समाजले स्तुत्य कार्य गरेको छ । यो कार्यको निरन्तरताले नेपाली गीत, संगीत अझ फस्टाउने अवसर प्राप्त गर्ने छ ।’

saman
कार्यक्रममा वरिष्ठ संगीतकार यादव खरेलले राज्यबाट सधै अन्यायमा परेको स्रष्टा नातिकाजीका सिर्जनाहरुलाई संरक्षण गरिनुपर्नेमा जोड दिए । यस्तै, वरिष्ठ गीतकार श्रीपुरुष ढकालले नेपाली गीत, संगीतमार्फत् नेपाली राष्ट्रियता प्रवद्र्धन तथा संरक्षणमा नातिकाजीले महतवपूर्ण योगदान गरेको बताए । कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजीत बास्कोटाले नेपाली आधुनिक संगीतको जग बसाल्ने कार्यमा नातिकाजी श्रेष्ठको महत्वपूर्ण योगदान रहेको चर्चा गरे ।
कार्यक्रममा नातिकाजी विशिष्ट स्रष्टा सम्मानबाट शारदा विक्रम बस्न्यात सम्मानित भएकी छुन् । यस्तै, नातिकाजी विशेष सम्मानबाट पि।एल।श्रेष्ठ, इन्दिरा श्रेष्ठ, प्रेम विनोद नन्दन र श्रीपुरुष ढकाल सम्मानित भए ।
यसैगरी, नातिकाजी संगीत पुरस्कारबाट गायक दीप श्रेष्ठ, संगीतकार शिलाबहादुर मोक्तान, साहित्यकार उषा शेरचन पुरस्कृत भएका छन् । नातिकाजी नवप्रतिभा संगीत पुरस्कारबाट गायक विश्व नेपाली पुरस्कृत भए । कार्यक्रममा ध्रुवकुमार श्रेष्ठ, सुनिल शर्मा र ठाकुर प्रसाद ढुंगानालाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा गायक विश्व नेपालीले दुईवटा राष्ट्रिगीत प्रस्तुत गरेका थिए ।

Comments