काठमाडौं । गायक विजय लामा आफ्नो सातौ एल्बम ‘मेरो गीत’ लिएर आएका छन् । विजयको एल्बमलाई मंगलबार राजधानीमा एक समारोहबीच अभिनेत्री करिश्मा मानन्धर, एनआरएन अमेरिकाका सोनाम लामा, कलाकार किरण केसीलगायतले विमोचन गरेका थिए ।
कार्यक्रममा ‘मेरो गीत’ मा समेटिएका तीनवटा गीतको म्युजिक भिडियो पनि देखाइएको थियो । एल्बम विमोचनपछि गायक लामाले सबै वर्गका संगीतप्रेमीलाई ध्यानमा राखेर ‘मेरो गीत’ तयार पारेको बताए । उनले भने, ‘यस एल्बमबाट म निकै उत्साहित छु । गीत सुन्नेहरुले राम्रो प्रतिक्रिया दिनुभएको छ ।’ दुईसय भन्दा बढी गीतमा स्वर दिइसकेका गायक लामाले पाँच वर्षको अन्तरालमा यो एल्बम ल्याएका हुन् । देशविदेशमा हुने कार्यक्रममा व्यस्त हुँदै आएका लामाले भने, ‘५ बर्ष लगाएर गीत तयार पारेको छु । यसको प्रतिफल पनि सकारात्मक पाएको छु ।’