काठमाडौं । आफ्नो छुट्टै पहिचान बनाएको सौन्दर्य तथा कल्चर प्रतियोगिता ‘एईसिसि मिस नेवाः ११३६’ को पहिलो अडिसनमा २२ युवती छनोट भएका छन् ।
प्रतियोगिताको यस ११औं संस्करणको पहिलो अडिसन शनिबार राजधानीमा भएको थियो । दोस्रो अडिसन सोमबार हुँदैछ । यहभागी ३२ मध्येबाट यी नेवार युवती छनोट भएका हुन् ।
यस संस्करणमा जम्मा ३० युवतीलाई प्रतियोगितामा सहभागी गराइने आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन् । उनका अनुसार सोमबार पनि प्रतियोगी छनोट गरिने छ ।
प्रारम्भिक चरणको छनोट कार्यक्रममा रोजिन शाक्य, प्राईम बैंकका उपप्रबन्ध निर्देशक, पूर्वमिस नेवा अलिशा बज्राचार्य, नमुना कलेज अफ फेसन टेक्नोलोजीका उपप्रमुख जिवेश्वरलाल श्रेष्ठ, फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरालगायत निर्णायक मण्डल थिए । चयन भएका प्रतियोगीहरुलाई बुधबाररबाट विभिन्न आत्मविकासबारे प्रशिक्षण दिइने अध्यक्ष मानन्धरले बताइन् । प्रतियोगिताको अन्तिम स्पर्धा २३ फागुनमा राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । यसपटक प्रतियोगिताको क्रियटिभ पार्टनर लिभिट इन्टरटेनमेन्ट रहेको छ ।