आर्ट काउन्सिलमा ‘सम्झनामा अफगानिस्तान’ (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, २२ पुष बुधबार
no img

काठमाडौं । अफगानिस्तानको बामियनमा गत अप्रिलमा भएको सार्क कलाकारको जमघटमा नेपालका कलाकारको पनि सहभागिता थियो । बामियनमा पाँचदिने कार्यशाला चलेको थियो ।

सो कार्यशालामा नेपालबाट नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य सुषमा राजभण्डारीको संयोजकत्वमा प्राज्ञसभा सदस्य अरुणा हिङमाङ तथा कलाकार नरबहादुर बिके र भीमप्रसाद शर्माले सहभागिता जनाएका थिए । अफगानिस्तानमा सहभागी भएका तिनै कलाकारले तयार पारेको कलाकृतिको नेपाल आर्ट काउन्सिलमा सोमबारबाट एकहप्ते कला प्रदर्शनी सुरु भएको छ ।

mn

‘सम्झनामा अफगानिस्तान’ नाम दिइएको सो प्रदर्शनीमा अफगानिस्तानका विभिन्न स्थानका दृश्यचित्र तथा त्यहाँका धार्मिक सांस्कृतिक विषयलाई समेटिएको छ । प्रायः सबै कलाकारका बामियानका बुद्धका मूर्तिको प्रभाव देख्न सकिन्छ । सन् २००२ मा तालिवानले फोडेका बुद्धका दुईहजार वर्ष पुराना मूर्तिलाई कलाकारले चित्रमार्फत सम्झेका छन् ।

mm
प्रदर्शनीका बारेमा सहभागी नवलपरासीका कलाकार भीमप्रसाद शर्मा भन्छन्, ‘अफगानिस्तानको सम्झनालाई ताजा बनाउने काम यस प्रदर्शनीले गरेको छ । त्यस्तै सार्कस्तरीय कलाकारका बीच भएको कार्यशालाले हामी सबै सार्क राष्ट्रका कलाकारका कलाका विषय र अवस्थालाई बुझ्न सघाऊ परु्यायो ।’

mn1
प्रदर्शनीमा शर्माले अफगानिस्तानका दृश्यचित्रलाई कलात्मक रुपमा प्रस्तुत गरेका छन् भने त्यहाँको सांस्कृतिक जीवनलाई पनि उतारेका छन् । सुषमा राजभण्डारीले पनि अफगानिस्तानको भौगोलिक परिवेशलाई सम्झनाका रुपमा क्यानभासमा उतारेकी छन् ।
‘नेपाली कलाकारले अन्तराष्टियस्तरमा सहभागी भएर नेपाली कलाको अवस्थालाई चिनाउन सफल हुनुभएको छ । आगामी दिनमा हामीले नेपाली कला र कलाकारलाई देश र विदेशमा कला प्रदर्शनी तथा कार्यशालाबाट चिनाउन प्रयत्न गर्नेछौं,’ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव नवराज भट्टले बताए । त्यस्तै नरबहादुर बिकेले बुद्ध र बामियनका अवस्थालाई देखाएका छन् । दृश्यचित्रका माध्यमबाट अरुणाले आफ्नो भावना व्यक्त गरेकी छन् । प्रदर्शनी पुस २६ गतेसम्म रहनेछ ।

Comments