अमेरिकामा हुने ‘आईपप’मा दुई नेपाली भिड्दै
screennepal
प्रकाशित: २०७२, ८ पुष बुधबार
no img

काठमाडौं । भनिन्छ, कलाको कुनै क्षेत्र, भाषा र सीमा हुँदैन । कलाकारिता भनेको विश्वको कुनैपनि कुनामा छरिएर रहेका मानिसहरुलाई पनि आवश्यक पर्छ । हो त्यस्तै नेपाली कलाकारिताको प्रभाव पनि विश्वभर छरिएर रहेका नेपालीहरु माझ छाईरहेको छ । जसरी आफ्नो कलालाई विभिन्न देशमा रहेका नेपालीहरुले प्रस्तुत गर्दै आइरहेका छन् त्यसरी नै प्रतिभाको खोजी गर्ने काम पनि विश्वभर भइरहेको छ ।
यसैक्रममा विश्वव्यापी रुपमा उदयमान प्रतिभाको खोजी कार्यमा जुटिरहेको अमेरिकाको लस एन्जलस्थित ईन्टरनेश्नल प्रिजेन्टेसन अफ पर्फमरस् (आईपप) ले कतारबाट दुई जना नेपाली बाल कलाकारलाई जनवरी २०१६ को प्रतियोगिताका लागी छनोट गरेको छ । आईपपको लामो इतिहासमा नेपालीले पहिलो पटक भाग लिँदैछन । विगत ३ बर्षदेखि परिवारसँग कतार बस्दै आएका झापाकी १४ वर्षीय रविना पोखरेल र ९ वर्षीय पुकार पोखरेलले आईपपको प्रतियोगितामा भाग लिने भएका छन । गत जुनमा आईपपको टिम विश्वव्यापी अडिसनका क्रममा कतार आईपुगेको थियो । कतारमा विभिन्न देशका ५ सय प्रतिष्पर्धीहरुलाई पछि पार्दै उनीहरु यहीँ ७ जनवरी २०१६ मा लस एन्जसलमा हुने फाईनल अडिसनमा भाग लिन जाँदैछन् ।

nabin-rama
कतारको पहिलो अडिसनमा छनोट भएपछि अभिनयका लागि रविना पोखरेललाई छानेको थियो । आयोजकको कथावस्तुमा दोश्रो अडिसनमा अभिनय गरेकी रविनालाई अभिनय विद्याका १ सय ५० जना सहभागीमध्ये बाट  छनोट गरिएको थियो । त्यस्तै अभिनयका लागि अडिसन दिएका पुकार क्यारिकेचर भ्वाईसमा छनोट भएका छन् । उनीहरु यहीँ २७ डिसेम्बरमा कतारबाट प्रतियोगीतामा भाग लिन अमेरिका जाँदैछन् ।
आईपपले  विश्वभरीबाट ४ वटा विद्याका उदयमान प्रतिभाको खोजी गर्दै आएको छ । जनवरीमा हुने फाईनल अडिसनमा विश्वका प्रख्यात कलाकारहरुले निर्णायकको भुमिका खेल्ने आयोजकले बताएको छ । विभिन्न देशबाट छानिएका ५० जना कलाकारहरु फाईनलमा प्रतिष्पर्धा गर्नेछन ।  आईपपका सिईयो रोन प्याटरसन् र प्रबन्धक मार्क गुर्नवी लगायत ४ जनाको टोलीले कतारको प्लाजा होटलमा अडिसन लिएको थियो । कतारको अडिसनमा कतार लगायत यहाँ बस्दै आएका फिलिपिन्स, जार्डन, लेवनाल, भारत लगायतका ७ देशका कलाकारहरु सहभागी भएका थिए ।
झापा जिल्लामा जन्मेका रविना पोखरेल र पुकार पोखरेल विगत ३ बर्षदेखि कतारमा परिवारसँग बस्दै आएका छन् । उनीहरु कतारको द क्याम्व्रिज स्कुलमा अध्यनरत छन् । १४ वर्षिय रविना ९ कक्षामा अध्ययनरत छन् भने ९ वर्षिय पुकार कक्षा ४ मा अध्ययन गर्दै छन् । बुबा नविन पोखरेलको कतारमा व्यवसाय भएका कारण उनीहरु कतारमा नै अध्ययन गरिरहेका हुन् । ५ वर्ष पहिला कतार छिरेका नविन कतारका सफल नेपाली व्यवसाय मध्ये एक हुन । आमा रमा अर्याल राष्ट्रियस्तरमा चर्चा बटुल्दै गरेकी गायिका हुन । रमा र नविनको दुई मात्र सन्तान हुन् रविना र पुकार । सानै उमेरबाट कलाकारितामा रुची राख्ने रविना र पुकारलाई आईपपले पहिलो आफ्नो कार्यक्रममा नेपाली प्रतिभा भएको बताएको छ । उनीहरुले विश्वमा नेपाली कलालाई चिनाउने आशा लिएको छ ।

त्यसैगरी हलिउड सिटी भनेर चिनिने अमेरिकाको लस एन्जलमा रहेको ईन्टरनेश्नल प्रिजेन्टेसन अफ पर्फमरस् (आईपप) ले विश्वमा रहेका ४ विद्यामा उदयमान कलाकारहरुको खोजी कार्य गर्छ । अभिनय, गायन, नृत्य र मोडलिङ्ग विद्याका कलाकारहरुको खोजी कार्यका लागी यूएस, क्यानडा, लेटिन अमेरिका, एसिया, यूके लगायतका देशहरुमा आयोजक टिम पुगेर अडिसन लिने गर्छ । विश्वका नयाँ अनुहारलाई अवसर दिने गर्छ । विभिन्न देशबाट छनोट भएका प्रतिभाहरुलाई लस एन्जलमा ४ दिन तालिम दिएर फाईनलमा प्रस्तुत गरिन्छ ।  बर्षमा २ पटक विभिन्न देशमा पुगेर अडिसन लिने आईपपले अडिसनबाट छानिएका प्रतियोगीहरुलाई लस एन्जलमा फाईनल अडिसन लिने गर्छ । हरेक जनवरीमा लिईएको अडिसनको जुनमा र जुनमा लिईएको अडिसनको जनवरीमा लस एन्जलमा फाईनल अडिसनको आयोजना हुने गर्छ । फाईनलबाट छानिएका प्रतिभावान कलाकारहरुलाई विभिन्न क्षेत्रमा अवसर समेत दिने गरेको छ । हलिउडका प्रख्यात फिल्म कम्पनी, निर्देशक, निर्माता, विज्ञापन कम्पनी लगायतको क्षेत्रबाट फाईनल अडिसनमा सहभागीता रहने र फाईनलका उत्कृष्ट कलाकारहरुलाई आ–आफ्नो क्षेत्रमा अनुबन्धित गर्ने काम हुन्छ । प्रतिभावान कलाकारहरुलाई एउटा राम्रो अवसर प्रदान गर्ने काम आईपपको कार्यक्रमले दिलाईरहेको छ । आत्मविश्वासले नै जिवनमा सफलता पाउन र नयाँ अनुभव बटुल्ने मौका मिल्छ । आईपपले भनेको छ ‘आईपप हाईपर ड्राइवमा आफ्नो अनुभवमा विश्वास राख्दछ । एक सुरक्षित र रचनात्मक प्रतिभाको खोजीका लागी विश्वमा रहेको  उदयमान प्रतिभालाई  समेटदै संसारमा प्रस्तुति गर्नुछ ।’

Comments