तारागाउँ म्यूजियममा पुरनको ‘सम्पूर्णता’ कला प्रदर्शनी
screennepal
प्रकाशित: २०७२, १ पुष बुधबार
no img

काठमाडौं । तारागाउँ म्यूजियम बौद्ध टुसालमा कलाकार पुरन खड्काको आठौं एकल कला प्रदर्शनी २९ मंसिरबाट सुरु भएको छ । म्यूजियमको आयोजनामा भएको ‘दि होलनेस’ अर्थात ‘सम्पूर्णता’ शीर्षकको कला प्रदर्शनीमा कलाकारले भौतिक जगतका देखिने र नदेखिने रहस्यलाई केलाउने प्रयास गरेका छन् । चित्रमा कालो, सेतो, रातो र खैरो रंग प्रयोग गरिएका चित्र भाव प्रधान रहेका छन् ।

01
२०१४ अप्रिलबाट सञ्चालनमा आएको तारागाउँ म्यूजियममा कलाका विविध गतिविधि तथा नेपालका परम्परागत संस्कृति र सम्पदाको संरक्षणमा काम गर्ने उद्देश्यका साथ यसको स्थापना भएको हो । यसका साथ साथै म्यूजियमले कला ग्यालरी पनि सञ्चालन गर्दै आएको छ ।

04
यस प्रदर्शनीमा कलाकार खडकाले अमूर्त शैलीमा तयार पारेका २० वटा चित्र राखिएको छ । नेपाली कला क्षेत्रमा विगत साढे तीन दशकदेखि क्रियाशिल रुपमा लागेका खडकाले अमूर्त शैलीमा कला रच्दै आएका छन् । ‘जीवनका धेरै बाटा हुन्छन् तीमध्ये कला पनि एउटा बाटो हो । कलामार्फत हामीले जीवनको रहस्य बुझ्ने प्रयास गरेका हुन्छौं’कलाकार खडकाले बताए । उनले थपे,‘देखिने र नदेखिने दुवै मिलाएर मात्र सम्पूर्णता हुन्छ ।’
‘वहाँ चित्र आफैमा अमूर्त छ । त्यसमा सम्पूर्णताको महसुस कसरी भयो भने वहाँको चित्रमा रंगको प्रयोग भएको छ । त्यो कालो र सेतो मात्रै भएको भए त्यो एकदमै मनोक्रोम्याटिक दृखिन्थ्यो । तर चित्रमा रातोको प्रयोगले विषयलाई सम्पूर्णता दिएको छ । अर्थात रातोको प्रयोगले चित्रमा तेस्रो आयामको अनुभूत गर्न सकिन्छ । साथै खैरो रेखाको प्रयोगले कही उत्रेको त कही डुबेको महसुस हुन्छ’ म्यूजियमका निर्देशक तथा क्युरेटर रोशन मिश्रले बताए ।प्रदर्शनी दुई सातासम्म रहने आयोजकले बताए ।

Comments