‘बागमती’ले दर्शकको मन सफा गर्नेछ : केकी
screennepal
प्रकाशित: २०७२, ७ मंसिर सोमबार
no img

काठमाडौं । चलचित्र ‘बागमती’को रिलिज डेट सार्वजनिक गरिएको छ । पछिल्लो समय बिग बजेटमा निर्माण गरिएको भनिएको ‘बागमती’ २४ पुसमा रिलिज हुने भएको छ । चलचित्र युनिटले राजधानीमा पत्रकार सम्मेलन गरी रलिज डेट सार्वजनिक गरेको हो । यससँगै प्रचार–प्रसारलाई समेत तिवै बनाइएको छ । राजधानीमा आयोजित ‘पत्रकारसँग बागमती’ नामक कार्यक्रममा चलचित्रका कलाकारले आ–आफ्नो अनुभव सुनाएका थिए । प्रचारात्मक कार्यक्रममा पहिलोपटक देखिएकी अभिनेत्री केकी अधिकारीले चलचित्र ‘बागमती’सँग आफ्नो नाम जोड्न पाउनु आफ्ना लागि उपलब्धीमूलक भएको सुनाइन् । उनले भनिन्, ‘मेरो नाम बागमतीसँग जोडिनु नै मेरा लागि ठूलो कुरा हो ।’

keki adhikari bagmati
दक्षिण भारतीय प्रविधि र निर्देशकले निर्देशन गरेको यस चलचित्र नेपाल–भारतबीचको दौत्य सम्बन्धलाई अझ सुधार गर्ने केकीले बताइन् । ‘नेपाली कथा र परिवेशमा भारतीय निर्देशकले बनाएको यो चलचित्रले दुई देशिय सम्बन्धलाई मजबुत बनाउने मेरो विश्वास छ’ केकीले पत्रकारसँग भनिन् । केकीले अहिलेसम्म आफूले खेलेका चलचित्रम भन्दा ‘बागमती’ फरक भएको दावी गरिन् । सरसफाईको अभियानले बागमती नदी सफा हुँदै गएझैं चलचित्र ‘बागमती’ले पनि दर्शकको मैलिएको मनलाई सफा बनाउने केकीको कथन थियो ।

यस चलचित्रमा अभिनेता शिव श्रेष्ठ र राजेश हमाल पनि देखिँदैछन् । कार्यक्रममा सहभागी अभिनेता श्रेष्ठले निकै मेहनत र उच्च प्रविधिका कारण चलचित्रले पूर्ण मनोरञ्जन दिने बताए । कार्यक्रममा निर्माण युनिटका तर्फबाट प्रस्तुतकर्ता बिजय सत्याल र दिनेश दर्शनधारी र निर्मात्री यशोदा राई सहभागी थिए । उनीहरुले चलचित्रमा प्रविधिको प्रयोगमा कुनै कन्जुस्याईं नगरेको बताए । चलचित्रमा शिव, राजेश र केकीका अलावा श्रेया कार्की, रविकर घिमिरेलगायत मुख्य भूमिकामा छन् । यो चलचित्र नेपालीलगाययत विभिन्न भाषामा डबिङ गरिएको छ । चलचित्रको निर्देशन सन्नी केरलाले गरेका हुन् ।

Comments