‘गुड फ्राईडे’मा मस्त भेटिए ईश्वर (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, ३० आश्विन शनिबार
no img

काठमाडौं । गायक आई विवश प्याकुरेल ‘ईश्वर’ले ‘दुई थोपा आँशु’ पछि अर्को गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । केही समयअघि मात्र ईश्वरले ‘दुई थोपा आँशु’ बोलको आफ्नो गीतको भिडियो सार्वजनिक गरेका थिए । अहिले आएर उनले ‘गुड फ्राईडे’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ईश्वरले शुक्रबारकै दिन पारेर यु–ट्युब तथा विभिन्न टेलिभिजनमार्फत ‘गुड फ्राईडे’ गीतको म्युजिक भिडियो सार्वजिनक गरेका हुन् । हाल एल्बमको तयारी गरिरहेका इश्वरले भने, ‘अपकमिङ एल्बमको प्रमोशनका लागि भिडियो सार्वजनिक गरेको हुँ ।’ उनले तिहारलगत्तै एल्बम सार्वजनिक गर्ने बताए ।

Ishwor
‘गुड फ्राईडे’ गीतको म्युजिक भिडियोलाई पर्फमिङ आर्ट क्रियशनको प्रस्तुतीमा कमल एक्चै मगरले निर्देशन गरेका हुन् । डान्सिङ बीटको यस भिडियोको छायांकन पनि डान्स रेष्टुरेन्टमै गरिएको छ । ‘समयको मागअनुसार डान्सिङ बीटको गीत ल्याएको हुँ’ गायक ईश्वरले भने, ‘युवा–युवतीले शुक्रबारलाई ‘गुड फ्राईडे’ का रुपमा मनाउने चलन बढिरहेकाले गीत पनि यस्तै बनाएको हुँ ।’ उनले आफ्नो यस गीतलाई युवापुस्ताले रुचाइदिने अपेक्षा गरेका छन् । ईश्वरले भने, ‘यो गीत युवापुस्तालाई नै समर्पित गरेर ल्याएको हुँ । त्यसैले उहाँहरुले मन पराइदिनुहुन्छ भन्ने अपेक्षा गरेको छु ।’ शब्द तथा संगीत गायक ईश्वरकै रहेको ‘गुड फ्राईडे’ मा पुनम, सुरज र सुनिलले मोडलिङ गरेका छन् । निर्देशक कमलकै सम्पादन रहेको यस भिडियोमा अजय स्यान्तानको कोरियोग्राफी र निरज श्रेष्ठको छायांकन रहेको छ ।

Comments