प्रसाईंको ‘हजार आशाहरु’
screennepal
प्रकाशित: २०७२, १३ आश्विन बुधबार
no img

काठमाडौं । लेखक तथा साहित्यकार पुण्यप्रसाद प्रसाईको प्रेरक कथासंग्रह ‘हजार आशाहरु’ पाठक माझ आएको छ । शुक्रबारबाट राजधानीको भृकुटी मण्डपमा जारी ‘दोस्रो बृहत् पुस्तक प्रदर्शनी तथा साहित्यिक महोत्सव–२०७२’ मा यो पुस्तक सार्वजनिक गरिएको छ । कार्यक्रममा अग्रज कवि तथा सँस्कृतिविद् तुलसी दिवशले कथासँग्रह हजार आशाहरु विमोचन गरेका हुन् । सो पुस्तक माथि आफ्ना धारणा राख्दै कवि दिवशले भने,‘पुण्यप्रसाद प्रसाईले नेपाली साहित्य लेखनमा नयाँ धार समातेका छन् । उनका यस अघिका कृतिहरु प्रेरक र आशा जगाउने किसिमका हुने गर्थे भने यो कृति हजार आशाहरुले पनि यही लय समातेको छ ।’ उनले अगाडि थपे,‘यस कृतिका प्रत्यक कथाहरुले पाठकमा नयाँ आशाको बिजारोपण गर्नेछन् । यो स्तरको कृति नेपाली साहित्यिक पाठकले प्राप्त गर्नु खुसीको कुरा हो ।’

prasainकथाकार प्रसाईले आफ्नो पुस्तक र त्यसमा समेटिएका कथा बारे भने,‘नेपाली समाज लामो समयसम्म द्धन्द्धमा अल्झियो भने त्यसपछि अर्को लामो कालखण्ड गणतन्त्रलाई सँस्थागत गर्नमा लाग्यो । अझ गत बैशाखको महाभूकम्पपछि सर्वसाधारणमा छाएको नैराश्यतालाई तोड्नको लागि यो पुस्तक ल्याएको हुँ ।’ यो कृति हरेक कथाहरुले पाठकमा नयाँ उत्साह, जोश, उमँग र आशा भर्ने विश्वास आफुले लिएको उनले बताए,‘यी कथाहरु पढीसकेपछि हरेक पाठकलाई लाग्ने छ कि सबै कुरा सकिएको छैन । अझ पनि धेरै कुरा गर्न सकिन्छ भन्ने विश्वास यो सँग्रहका कथाले जगाउँछ । आशा रहेसम्म मानिसले कहिल्यै हार्दैन त्यसैले आशा मर्न नदिउँ ।’

यो सँग्रहलाई डिकुरा पब्लिकेशनले बजारमा ल्याएको हो । चार सय मूल्य राखिएको यो पुस्तकमा ५५ ओटा कथा सँग्रहित छन् । काठमाडौंका भृकुटी मण्डपमा गत शुक्रबारदेखि १९ असोजसम्म चल्ने दोस्रो बृहत पुस्तक प्रदर्शनी तथा साहित्यिक महोत्सबका साथै देशैभरमा यो पुस्तक उपलब्ध भएको पनि लेखक प्रसाईले जानकारी गराए ।

Comments