दुई दशकपछि गायनमा भुमिकाको कम्ब्याक (म्युजिक भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, २० भाद्र आईतवार
no img

काठमाडौं । पुर्वाञ्चलको आन्दोलनमा जनजागरण गीत गाउँदै बाल्यकाल बिताएकी भूमिका सुब्बाले त्यतिखेरै सांगीतिक यात्रा पनि तय गरेकी हुन् । तिनै भूमिका करिब दुई दशकको ‘ब्रेक’ पछि एकसाथै दुई एल्बमसहित गायनमा कम्ब्याक भएकी छन् । उनी आफना श्रोता तथा दर्शकका लागि ‘भूमिका’ र ‘संगिनी’ नामक एल्बम लिएर आएकी छन् ।

bhumika
गायन यात्राको प्रारम्भ जागरण गीतबाट गरेकी भूमिकाले आफ्नो पहिलो एल्वम ‘भुमिका’ मा जनजागृति गीत नै समावेश गरेकी थिइन् । उक्त एल्बममा बिजय सुब्बा, डम्बर पहाडी, सरिता तुलाधार, श्याम तमोट र स्वर्गीय पुर्ण ब. लिम्बुको शब्दमा भूमिका आफ्नो सुमधुर स्वर दिएकी छन् । जसलाई बिजय सुब्बा, अशोक राई र साजन राईले संगीत गरेका छन् । भूमिकाले ‘संगिनी’ हालै सार्वजनिक गरेकी हुन् । आफ्नो दोस्रो एल्बमलाई भूमिकाले महिलाको महान चाड तिजलाई लक्षित गर्दै ल्याएकी हुन् ।
तिज हिन्दु धर्मावलम्बी नारीहरुको मात्र भनिए पनि सबै धर्म, जात तथा परिवेशका नेपाली दिदीबहिनीले मनाउने गरेका छन् । त्यसैले पछिल्लो केही वर्षयता तिन सम्पूर्ण नेपाली नारीको पर्व भन्न थालिएको छ । भूमिकाको गीतमा पनि यस्तै मर्म समेटिएको छ । उनको एल्बममा ‘बजादेउ मादलु नाच्छु छम छम’ र ‘पोहोर साल तिजमा माइती लिन आइथे’ जस्ता गीत छन् ।
भूमिकाले आफ्नो गीतमार्फत महाभूकम्पले पु¥याएको धनजनको क्षतिलाई मार्मिक रुपमा समेटेकी छन् । दुवै गीतको शब्द तथा लय गायक अमृत खातीले गरेका हुन् । एल्बममा समावेश पहिलो गीतको भिडियोसमेत तयार भइसकेको भूमिकाले बताइन् । उत्तः गीतको भिडियोमा नायिका मेलिना मानन्धर र रोहित रुम्बाले मोडलिङ गरेका छन् ।
राष्ट्रिय जनसांस्कृत महासंघ नेपालको केन्द्रिय कोषाध्यक्ष समेत रहेकी गायिका सुब्बाले भर्खरै हङकङमा सांगीतिक कार्यक्रम गरेर फर्केको बताइन् । राजनैतिक परिवारमा जन्मेहुर्केकी भूमिका भन्छिन्, ‘राजनीति त मानव गुण जस्तै भइसक्यो ।’ जन सांस्कृतिक महासंघमा आउनअघि उनी चलचित्र सेन्सर बोर्डमा सदस्य थिइन् । गायनलाई बिचमा ब्रेक गरेकामा उनलाई पछुतो समेत लागेको छ । उनी भन्छिन्, ‘अबको समय म राजनीति सँगसँगै सांगीतिक क्षेत्रलाई समेत निरन्तरता दिनेछु ।’ समयको मागअनुसार राष्ट्रिय तथा आधुनिक गीतका एल्बम निकाल्ने उनको सोच छ ।

Comments